हेटौँडा–पशु सेवा कार्यालय मकवानपुरले वार्षिक कार्यक्रम सार्वजनिक साथै त्रैमासिक समीक्षा कार्यक्रम गरेको छ । बुधबार एक गोष्ठीकाबीच कार्यालयले वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यालय प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानले चालुतर्फ ४ करोड ९६ लाख रुपैयाँ र पुँजीगततर्फ २३ लाख ४० हजार रुपैयाँको कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिए । जेनजी आन्दोलनपछि बजेट कटौती भएकाले वार्षिक कार्यक्रम सार्वजनिक गर्ने तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको बताउँदै प्रधानले अब कार्यालयले तोकिएको कार्यक्रमहरु तीव्रताका साथ गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले चालु वर्षमा कार्यालयले खोरेत रोग क्षेत्र कार्यक्रमअन्तर्गत खोप कार्ड छपाई र समन्वय बैठकहरु गरिने जानकारी दिए । कार्यालयमार्फत एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए । सो कार्यक्रमका लागि ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै पशुपंक्षी रोज सर्भिलेन्स तथा नमुना संकलन, परीक्षण, संक्रामक रोगविरुद्धको खोप कार्यक्रम, मत्स्यपालन क्षेत्र विकास कार्यक्रम पनि कार्यालयले गर्ने जनाएइएको छ । यसैगरी पशुपंक्षी तथा मत्सजन्य पदार्थ उपभोग प्रवद्र्धन कार्यक्रममा पनि कार्यालयले बजेट विनियोजन गरेको छ ।
कार्यालय प्रमुख प्रधानको अध्यक्षतामा भएको गोष्ठीमा कार्यालयका डा. मदन भण्डारीले त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाध्यक्ष कृष्णप्रसाद बजगाई, कैलाश ३ नम्बर वडाध्यक्ष देवलाल बल, पशुपंक्षी निर्देशनालयका बरिष्ठ पुश अधिकृत डा. सन्तोष घिमिरे, डा. कमल अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका पशु शाखाका प्रमुख एवम् प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।



