Search
Close this search box.

‘गरिबलाई गरिखाने बनाउन प्रदेश सरकार तल्लीन’

मनहरी– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । गरिबलाई गरिखाने बनाउने लक्ष्यका साथ प्रदेश सरकारले आयमुलक र सीपमुलक कामका लागि विपन्न नागरिकलाई बिना ब्याज ऋण दिने कार्यविधि बनाएर अघि बढेको बताएका हुन् ।

सोमबार मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोह समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले भने–‘मुख्यमन्त्री हुनबित्तिकै मैले गरिबमुखी, न्यायमुखी, गाउँमुखी, आयमुखी, विकासमुखी र जनमुखी काम गर्ने भनी मैले सपथ खाएको छु, सोहीअनुसार नै कामहरु गरिरहेको छु ।’ उनले प्रदेश सरकारमार्फत एक हजार परिवार विपन्नको घर बनाउन लागिएको बताउँदै गरिबलाई छाना, खाना र नाना भन्ने नाराका साथ २ लाख रुपैयाँ बिना ब्याज ऋण दिने तयारी गरिएकोसमेत बताएका छन् ।
आफू नेतृत्वको सरकारले जिम्मेवार, पारदर्शी उत्तरदायी र जिम्मेवार बनेर देखाउने प्रतिवद्धता पनि बानियाँले व्यक्त गरे । सुशासन र भ्रष्टाचारमुक्त बागमती प्रदेश महाअभियान निर्माणमा लाग्ने आफ्नो संकल्प रहेको भन्दै बानियाँले आफू बोली र व्यवहार एकै गर्ने प्रतिवद्धता दोहोर्याए ।

अहिलेको गणतान्त्रिक व्यवस्था गरिब विपन्न र पछाडि परेका वर्गको हितमा केन्द्रित रहेको भन्दै बानियाँले वर्तमान व्यवस्था विरोधीहरुले भ्रम सिर्जना गरिरहेको बताएका छन् । ‘पछिल्लो समय गणतन्त्र असफल भएको हो कि भन्ने भाष्य स्थापित गरिएको छ । तर, त्यो भ्रम हो । गणतन्त्रपछि नै गाउँगाउँमा सडक र पुलहरु बनेका छन् । सबै खाला सेवा सुविधाहरु वृद्धि हुँदैछ ।’ बानियाँले भने–‘जेनजी पुस्ताले पनि व्यवस्था परिवर्तन भनेका होइनन्, अवस्था परिवर्तन चाहेका हुन् ।’ मनहरी गाउँपालिकालगायत आफू निर्वाचित क्षेत्रमा आवश्यकताका आधारमा सडक पुललगायत पूर्वाधार विकासमा प्राथमिकता दिँदै आएको बताउँदै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीमगर, ४ नम्बर वडाध्यक्ष प्रकाश थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । मंसिर ८ गतेबाट सुरु भएको विद्यालयको स्वर्ण महोत्सव सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न खेल प्रतियोगिता तथा शैक्षिक कार्यक्रम गरिएको थियो । विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई कार्यक्रमकैबीच पुरस्कृत गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan