Search
Close this search box.

एमाले मकवानपुरको ११औँ महाधिवेशन प्रतिनिधि चयनले पार्टीको अनुशासित चरित्र पुनः स्थापित गरेको छ ;  वडाध्यक्ष सिग्देल

हेटौंडा ।  नेकपा एमाले मकवानपुरको ११औँ महाधिवेशन (मंसिर २७–२९) का लागि प्रतिनिधि छनोट प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत महाधिवेशन प्रतिनिधि चयनका अनुभव र अनुभूति सार्वजनिक गर्दै यसपटकको प्रक्रियाले पार्टी जीवनको अनुशासित चरित्र र सम्य संस्कृति पुनः स्थापित भएको बताएका छन्।

उनका अनुसार २ नं. संघीय निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा र १ नं. संघीय निर्वाचन क्षेत्र तथा जिल्ला दलित क्षेत्रमा निर्वाचनमार्फत प्रतिनिधि टुंगो लगाइएको थियो। उनले महाधिवेशनमा सहभागी हुने तीव्र आकांक्षा राखेपनि प्रतिनिधि बन्न नपाएका कार्यकर्ताले समेत विवादरहित रूपमा सर्वसम्मत प्रक्रियालाई साथ दिएको उल्लेख गरे।

विकट भूगोल तथा छोटो समयको सूचनाका बीच पनि उत्साहपूर्वक मित्रवत प्रतिस्पर्धासहित निर्वाचन सम्पन्न भएको सिग्देलले बताए। उनका अनुसार प्रतिनिधि छनोटका क्रममा तीनै पुस्ताका कार्यकर्ताको सहभागिता, व्यवस्थित चुनाव प्रणालीको अवलम्बन, उल्लेखनीय उपस्थिति र हार–जितलाई हार्दिकतापूर्वक स्विकार्ने संस्कार विशेष रूपमा देखिएको छ।

सिग्देलले लेखेका छन्, “यी दुवै अभ्यासले नेकपा एमाले मकवानपुरको पार्टी जीवनको अनुशासित चरित्र र सम्य संस्कृतिलाई पुनः स्थापित गरेको छ।”

उनी भन्छन्, आगामी दिनमा यस सकारात्मक अभ्यासलाई पार्टी संगठनको पूँजीका रूपमा लिएर पार्टीभित्रको आन्तरिक एकता अझ सुदृढ बनाउँदै जनताको चाहना र जिल्लाको आवश्यकताअनुसार यात्रा अगाडि बढाउनुपर्नेछ। मकवानपुरमा एमाले आज पनि जनमत र संगठन दुवैका हिसाबले बलियो पहिलो शक्ति रहेको र भविष्यमा पनि यसलाई रोक्न कसैले नसक्ने उनको दाबी छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan