हेटौँडा–मकवानपुरको मनहरी गाउँपालिकाले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वडाका स्थानीयलाई मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका बारेमा सचेतना प्रदान गरेको छ । स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गाउँपालिकाले वन्यजन्तुले पु¥याउने मानवीय तथा भौतिक क्षति कसरी न्यूनीकरण गर्ने भन्नेबारे सचेतना कार्यक्रम गरेको हो ।
वन्यजन्तुबाट हुनसक्ने बाली, पशुपंक्षी क्षति न्यूनीकरण, बाली वा पशुपंक्षी क्षति भएमा राहत कसरी लिने, वन्यजन्तुको आक्रमणबाट स्थानीय घाइते वा मृत्यु भएमा राहत र उपचार सुविधा कसरी प्राप्त गर्नेलगायतका विषयमा स्थानीयलाई सचेतना प्रदान गरिएको गाउँपालिकाका विपद फोकल पर्सन ज्ञानेन्द्र ढकालले जानकारी दिए ।
गाउँपालिकाका वन तथा वातावरण समितिका संयोजक एवम् वडा नम्बर ९ का अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा मंसिर १२ गते १ र २ नम्बर वडाका स्थानीयबीच कार्यक्रम आयोजना गरिएको थियो भने मंसिर १५ गते ५ नम्बर वडामा कार्यक्रम राखिएको थियो । ६ र ७ नम्बर वडालाई समेटी मंगलबार ६ नम्बर वडामा सचेतना कार्यक्रमको आयोजना गरिएको थियो ।
१ नम्बर वडामा वडाध्यक्ष शिवप्रसाद खनाल, ५ नम्बर वडामा वडाध्यक्ष दिपेन्द्र अधिकारी र ६ नम्बर वडामा वडाध्यक्ष युवराज थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य , टोल विकास समिति , वन समिति, उपभोक्ता र किसानहरु लगायतको सहभागिता रहेको थियो । सचेतना कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज लामिटार पोष्टका संरक्षण अधिकृत मनोज कुमार मण्डलले प्रशिक्षण दिएका थिए । गाउँपालिकाले अन्य वडाहरुमा पनि सो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
