Search
Close this search box.

सडक विस्तार अवरुद्ध गर्नेविरुद्ध प्रशासनको कडा चेतावनी

 मकवानपुर। सडक डिभिजन कार्यालय मकवानपुरले मंसिर ५ गते जारी गरेको सूचनालाई आधार मानेर हेटौंडा बजार क्षेत्रमा भइरहेको सडक विस्तार कार्यलाई तीव्र बनाउने उद्देश्यले मंसिर १९ गतेदेखि बजारक्षेत्रका सम्पूर्ण गतिविधि रोक्नुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार सहमति भएर पनि सडक विस्तारका कामलाई आवश्यक रूपमा अघि बढाउन नसकिएको र व्यापारिक गतिविधि, पसल तथा सडक किनारका संरचनाहरूले निरन्तर अवरोध गर्दै आएको उल्लेख गरिएको छ। यसले समग्र सार्वजनिक निर्माण तथा विकास कार्य प्रभावित बनेको प्रशासनको भनाइ छ।

सूचनामा मंसिर २० गतेसम्म आफ्नो सामान, पसल तथा अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाउन दिएको निर्देशनको पालना नभएकाले आजदेखि बजार क्षेत्रमा सञ्चालन हुने सबै प्रकारका गतिविधि रोक्का गरिने चेतावनी दिइएको छ।

सडक विस्तार कार्यमा जानीजानी अवरोध पुर्‍याउने, सार्वजनिक स्थानमा फोहोर फाल्ने, नियोजित रूपमा काम रोक्ने वा सरकारी निर्णय अवज्ञा गर्ने व्यक्तिहरूविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ। यस्ता गतिविधिमा संलग्नलाई व्यक्तिगत रूपमा समेत जिम्मेवार ठहर्याइने सूचनामा उल्लेख छ।

प्रशासनले कुनै हालतमा सडक विस्तारको काम नरोकिने जनाएको छ। साथै, लामो समयसम्म सबै पक्षको असहयोग सहन नसकिने बताउँदै सडक विस्तार सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan