हेटौंडा । हेटौंडामा मंसिर २० गतेदेखि सुरु हुने २५/२५ गज सडक विस्तारको विरोधमा प्रभावित घरधनी तथा व्यवसायीहरूले आन्दोलन तीव्र पारेका छन्। हेटौंडा सडक पीडित संघर्ष समितिको आयोजनामा बुधबार बुद्धचोकमा भेला भएका उनीहरूले ¥यालीसहित सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिका अगाडि प्रदर्शन गरे।
ठूलो संख्यामा सहभागी भएका घरधनी तथा व्यवसायीहरूले “क्षतिपूर्ति व्यवस्था गर”, “सरकार न्याय दे”, “१५ दिने सूचना खारेज गर”, “बिना मुआब्जा सडक विस्तार हुँदैन”, “राज्यले नागरिकलाई सुकुम्बासी बनाउँदैन”जस्ता नारा लगाउँदै विरोध जनाए।
सडक डिभिजन कार्यालयले राजमार्गको केन्द्ररेखाबाट दायाँ–बायाँ २५/२५ गज सडक विस्तार गर्ने तयारी गरेपछि स्थानीय घरधनी आक्रोशित बनेका हुन्। संघर्ष समिति संयोजक भुवनलाल श्रेष्ठसहितका प्रतिनिधिले सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकाका प्रतिनिधिलाई चारबुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्।
ध्यानाकर्षणपत्रमा हेटौंडाको भीडभाडयुक्त भाग हुँदै सडक विस्तार नगरी राप्तीपुल–कुष्माण्ड सरोवर–रातोमाटे तथा राप्तीपुल–चौकीटोल–तिरेधारा मार्गलाई वैकल्पिक रूपमा राष्ट्रिय राजमार्ग घोषणा गर्न माग गरिएको छ। साथै हालको राजमार्गलाई केन्द्ररेखाबाट १६–१६ मिटरभित्र मात्र सीमित राख्नुपर्ने, त्यस क्रममा विस्थापित हुनेको उचित व्यवस्थापन र क्षतिपूर्ति सरकारद्वारा सुनिश्चित गर्नुपर्ने उल्लेख छ।
सडक सीमा भित्रका संरचना हटाउन मंसिर ५ गते जारी गरिएको सूचनाको विरोधस्वरूप बुधबार प्रभावित क्षेत्रका व्यवसाय पूर्ण रूपमा बन्द गरिएका थिए। राप्ती रोड, बैंक रोड, पिपलबोटलगायत क्षेत्रमा दिनभर व्यापार ठप्प रह्यो। उनीहरूले बिहीबारदेखि अनिश्चितकालीन व्यवसाय बन्दको चेतावनीसमेत दिएका छन्। बिहीबार लालपुर्जासहित प्रदर्शन गर्ने तयारी भइरहेको समितिले जनाएको छ।
उता, जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक गरेको सूचनामा सहमति भएर पनि सडक विस्तार अवरुद्ध भएको, व्यापारिक संरचनाले लगातार काम रोकिरहेको र सार्वजनिक विकास कार्य प्रभावित बनेको उल्लेख छ। मंसिर २० गतेभित्र सामान तथा अवैध संरचना हटाउन दिएर गरिएको निर्देशन पालना नभए बजार क्षेत्रका सबै गतिविधि रोक्का गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।
सडक विस्तारमा जानीजानी अवरोध पुर्याउने, फोहोर फाल्ने, नियोजित अवज्ञा गर्नेहरूविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने चेतावनी प्रशासनले स्पष्ट पारेको छ। कुनै हालतमा सडक विस्तार नरोकिने बताउँदै प्रशासनले सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
