हेटौंडा ।हेटौंडा उपमहानगरपालिका अन्तर्गत पर्ने राष्ट्रिय राजमार्ग क्षेत्रमा सरकारले अतिक्रमण हटाउने प्रक्रिया तीव्र पारेको छ। सडक सीमा उल्लङ्घन गरी निर्माण गरिएका स्थायी र अस्थायी संरचनामाथि शुक्रबार अल्टिमेटम सकिएसँगै आज बिहान ५ बजेदेखि डोजर संचालन गरिएको हो।
सडक विस्तारका लागि करिब ५ सय सुरक्षाकर्मी र १० भन्दा बढी डोजर परिचालन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। अहिलेसम्म १५ भन्दा बढी संरचना भत्काइएका छन्। पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलको मेन रोडस्थित पेन्टागन टावर परिसरमा पनि डोजर पुगेको छ।
अचानक डोजर सञ्चालन भएपछि व्यापारीहरू आफ्नो सामान जोगाउन हतार–हतार स्थानान्तरण गरिरहेका छन् भने केही स्थानीय व्यापारी भावुक भएका दृश्यहरूले वातावरण थप तनावपूर्ण बनेको छ।
सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक चौडाइ ७५–७५ फिट पुर्याउने योजना अघि सारेको छ।
यसअघि सर्वोच्च अदालतको आदेश सार्बजनिक गर्दै मंसिर ५ गते सडक डिभिजनले १५ दिनभित्र अतिक्रमण हटाउन चेतावनी दिएको थियो। समयसीमा भित्र संरचना नहटेपछि डिभिजन स्वयंले कार्यान्वयनमा उत्रिएको हो।
सडक डिभिजन कार्यालयका अनुसार भनेको क्षेत्रमा मात्र करिब ९.५ किलोमिटर सडक खण्डमा ५३१ वटा संरचना भत्काउनुपर्नेछ। केन्द्ररेखाबाट दायाँतर्फ २३४ र बायाँतर्फ २९७ संरचना अतिक्रमणमा परेका छन्।
