,
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले महेन्द्र राजमार्गको दायाँ–बायाँ भइरहेको सडक विस्तारका कारण प्रभावित स्थानीयवासी तथा व्यवसायीका लागि सहजीकरण र राहतका कार्यक्रम अघि बढाउने भएको छ।
आइतबार बसेको ७६औँ नगर कार्यपालिका बैठकले सडक विस्तारपछि देखा पर्ने समस्याहरू समाधानका लागि ९ बुँदे कार्ययोजना पारित गरेको हो।
उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार सडक चौडाइ बढाउँदा घर भत्किन पुगेका घरधनीलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकसँग आग्रह गर्ने निर्णय गरिएको छ। त्यस्तै, पुनः व्यवसाय सञ्चालनमा कठिनाई भोगिरहेका व्यवसायीलाई अस्थायी रूपमा कर छुट प्रदान गर्ने प्रस्ताव नगर सभामा पेस गर्न तयारी गरिएको छ।
जग्गा अंश नपएकाहरू तथा अन्यत्र बसोबासका लागि विकल्प नभएकाहरुको विवरण संकलन गरी मालपोत कार्यालयबाट प्रमाणीकरण हुनेछ। त्यसपछि परियोजनामार्फत उनीहरूको आवास व्यवस्थापन गर्न पहल गरिनेछ।
सडक विस्तारका कारण प्रभावित व्यवसायलाई संरक्षण र निरन्तरताका लागि मकवानपुर उद्योग वाणिज्य संघ लगायतका निकायसँग सहकार्य गर्दै बजार क्षेत्र तथा आवश्यक सेवाको नियमितता सुनिश्चित गरिने उपमहानगरले जनाएको छ।
त्रिभुवन राजपथलाई पर्यटकीय आकर्षणका रूपमा विकसित गर्न संघीय सरकारसँग पहल गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, सडक किनारका घरहरूलाई हेटौंडाको पहिचान झल्कने नमुना संरचनामा पुनर्निर्माण गर्न मोडल तयार गरी कार्यान्वयन गर्ने तयारी गरिएको छ।
फास्ट ट्रयाक प्रक्रियाबाट भवन नक्सापास सेवा उपलब्ध गराउने तथा २,००० वर्गफुटसम्मको नक्सा पास दस्तुर निःशुल्क राख्ने प्रस्ताव नगर सभामा लैजाने निर्णय बैठकले गरेको छ।

