Search
Close this search box.

एकताबद्ध कांग्रेसले मुलुकका समस्या समाधान गर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले एकताबद्ध पार्टीले नै मुलुकका समस्या समाधान गर्ने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुरको बागमती गाउँपालिका-९ बेतिनी वडा इकाइ समितिद्वारा बेतिनीमा आयोजित अगुवा कार्यकर्ता भला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका छन् ।
नेपाली कांग्रेस बागमतीका प्रदेश सभापतिसमेत रहेका बानियाँले मुलुक निर्वाचनमा गएकाले पार्टीभित्र थप एकता आवश्यक रहेको बताए ।
‘देश चुनावमा गएको छ । पार्टीभित्र पनि चुनाव हुँदैछ । अब आन्तरिक विवादमा रूमल्लिनु हुँदैन,’ उनले भने, ‘ पार्टीले योग्य व्यक्तिलाई उम्मेदवार चयन गर्नेछ, टिकट नपाउनेले अन्तरघातमा लाग्नु हुँदैन। अन्तरघात गर्दा पार्टी कमजोर हुँदैछ, अब त्यस्तो हुनुहुँदैन। ‘
नेपाली कांग्रेसले लोकतन्त्रका निम्ति भएका सबै संघर्षको नेतृत्व गरेको भन्दै बानियाँले अब आर्थिक समृद्धीको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।
२००७ मा प्रजातन्त्र प्राप्तिको संघर्ष, ३० वर्षे निरङ्कुश पञ्चायत, माओवादीको हिंसात्मक युद्धको अन्त्य माओवादीकै नेतृत्वमा भएको चर्चा गर्दै उनले मुलुकको हितका निम्ति कांग्रेसले अग्रसर रहेको बताए ।
उनले जनताको सेवाको निम्ति कांग्रेस पार्टी गठन भएको भन्दै कांग्रेसको विजयका निम्ति जनताको नजिक रहेर काम गर्न कांग्रेस नेता-कार्यकर्तालाई आग्रह गरे ।
मुख्यमन्त्री बानियाँले मकवानपुर र ललितपुर जोड्ने मोटरेवल पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेस सबैलाई समेट्न सक्ने पार्टी भएको बताए । विकासको नेतृत्व कांग्रेसले गर्ने भन्दै लामाले जनतालाई भदभाव नगरी पालिका नेतृत्वले विकास गर्नुपर्ने बताए ।
बाटो, पुल लगायतका विकासका सपना कांग्रेसले नै गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा ४० जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्योपाने, क्षेत्रीय सभापति दामोदर खनाललगायत उपस्थित थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan