Search
Close this search box.

हेटौंडामा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामाथि केन्द्रित अन्तर्क्रिया, सामाजिक सुरक्षामा जोड

हेटौंडा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित हेटौंडामा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरूमाथि केन्द्रित अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार मकवानपुर महिला उत्थान समाजको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिका र मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सञ्जालको समन्वयमा कार्यक्रम भएको हो।

समाजकी सचिव सावित्री लामिछानेको सभाध्यक्षता र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भिमफेदी, हेटौंडा र मनहरीका अनौपचारिक श्रमिक तथा स्वरोजगार महिलाहरूको उल्लेख्य सहभागिता थियो।

संवादका क्रममा अनौपचारिक श्रमिकको अवस्था, सामाजिक सुरक्षा योजनाको प्रभावकारिता, नीति कार्यान्वयनका चुनौती र स्थानीय तहको भूमिकाबारे विस्तृत छलफल भयो। भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले सामाजिक सुरक्षा कोष २०६७ चैत ७ मा स्थापना भएको र २०७५ मंसिर ११ देखि औपचारिक रूपमा सञ्चालन भएको जानकारी दिए। अनौपचारिक श्रमिकका लागि २०८० साउन ३१ गतेदेखि छुट्टै सुविधा योजना सुरू गरिएको उनले बताए।

भिमफेदीमा १९७ अनौपचारिक श्रमिक रहेको उल्लेख गर्दै उनले २०८०/८१ मा १३ लाख र २०८१/८२ मा २५ लाख कोषमा विनियोजन गरिएको जानकारी दिए। हालसम्म कोषमा जम्मा रकम ४७ लाख ५१ हजार ४८ पुगेको छ भने २६ श्रमिकले स्वास्थ्य, अपरेसन र मातृत्व सेवा पाइसकेको बताइएको छ।

त्यस्तै श्रम तथा रोजगार कार्यालयका रुद्र नारायण शाहले श्रमिकहरुको अधिकारको विषयमा प्रस्तुतीकरण दिएका थिए।

अनौपचारिक महिलाश्रमिकलाई व्यापक रूपमा सामाजिक सुरक्षा योजनामा जोड्न सहभागीहरूले आग्रह गरे। भिमफेदी गाउँपालिकाले ११७ श्रमिकलाई कोषमा समावेश गरिसकेको र थप श्रमिक समावेशिका लागि समन्वय माग भएको छ। सुरक्षाकोषले दुर्घटनामा परेका श्रमिकलाई राहत दिएको अनुभव सहभागीहरूले साझा गरेका थिए।

कार्यक्रममा मनहरी उपाध्यक्ष सीता पुलामी मगर, हेटौंडा उपमहानगर प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, सिडिओ बसन्त अधिकारी, एसपी सुवास चन्द बोहोरा, शाखा प्रमुख विष्णुकुमारी लामिछाने हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबा, समाजकी कार्यक्रम संयोजक निशा लामालगायतको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan