Search
Close this search box.

हेटौँडामा ‘मानव अधिकार र आम निर्वाचन’ विषयक अन्तरपुस्ता संवाद सम्पन्न

हेटौंडा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ७७औँ राष्ट्रिय मानव अधिकार आयोग दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश, मानव अधिकार राष्ट्रिय महासंघ र इन्सेकको संयुक्त आयोजनामा “मानव अधिकार र आम निर्वाचन विषयक अन्तरपुस्ता संवाद” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुर र प्रदेश स्तरीय मानव अधिकार रक्षक संजालको सहकार्य रहेको थियो।

कार्यक्रममा बागमती प्रदेश उपसभामुख अप्सरा चापागाईंले मानव अधिकारको संवेदनशील विषयमा राज्यले अझै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै, “मानव अधिकार केवल बोल्न सक्नेको मात्र अधिकार हो कि जस्तो बुझिने प्रवृत्ति अब अन्त्य हुनुपर्छ,” भन्दै सरकार र सम्बद्ध निकायलाई जिम्मेवारी पूरा गर्न आग्रह गरिन्।

कार्यक्रमको स्वागत मन्तव्य दिँदै इन्सेक बागमती प्रदेश प्रमुख शिव प्रसाद खकुरेलले २२ देखि २६ गतेसम्म विविध कार्यक्रमसहित मानव अधिकार दिवस मनाइँदै आएको बताउँदै, १६ दिने लैङ्गिक हिंसा विरोधी अभियान समापन भएको जानकारी दिए। उनका अनुसार इन्सेकको तथ्याङ्कमा लैङ्गिक हिंसाका घटनाहरूमा महिला र किशोरी सबैभन्दा बढी प्रभावित हुने तथ्य प्रमुख रूपमा देखिन्छ। स्थापनाकालदेखि नै इन्सेकले देशभर मानव अधिकार संरक्षणमा निरन्तर काम गर्दै आएको उनले उल्लेख गरे।

कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंको सभाध्यक्षतामा भएको थियो भने उपसभामुख अप्सरा चापागाईं प्रमुख अतिथि रहेकी थिइन्।

गैसस महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्माले मानव अधिकार र आम निर्वाचन विषयक पृष्ठभूमि, नागरिक समाजको भूमिका तथा सुशासनमा गैरसरकारी संस्थाको योगदानबारे प्रस्तुतीकरण गरे।

त्यस्तै मानव अधिकार आयोग बागमती प्रदेश अधिकृत रविना घिमिरेले प्रदेशको मानव अधिकार अवस्थाबारे विस्तृत प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा विभिन्न बहानामा विद्यालयहरूले अवैध शुल्क उठाउने गरेको, स्वास्थ्य, महिला, दलित तथा जेष्ठ नागरिक अधिकारका चुनौती, प्रदेश–स्थानीय तहको जिम्मेवारी र सामाजिक संघ–संस्थाको भूमिकाबारे जानकारी दिइन्। आयोगमा २०८०/८१ मा ५२५ र २०८१/८२ को साउन मसान्तसम्म ५१३ उजुरी दर्ता भएको तथ्यांक उनले साझा गरिन्।

कार्यक्रममा सहभागी जेनजी पुस्ताका युवाहरूले सडक विस्तारका क्रममा भएका मानव अधिकार उल्लंघनमा आयोगको सक्रियता नदेखिएको गुनासो राखे। जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरू अझै न्यायबाट वञ्चित रहेको उल्लेख गर्दै, युवा पुस्ताको पीडा प्रति आयोगले ध्यान दिनुपर्ने माग राखियो।

सुनिश्चितताका लागि आयोगले थप सक्रिय बन्नुपर्ने सुझाव पनि सहभागीले राखे।

सञ्चारकर्मी प्रति सामाजिक सञ्जालमार्फत भइरहेका अपमानजनक व्यवहारप्रति पत्रकार महासंघ मकवानपुरकी अध्यक्ष भावना रिजालले आयोगको ध्यानाकर्षण गराइन्।

मकवानपुर जेनजी आन्दोलन संयोजक सुगम नेगीले आन्दोलनमा घुसपैठ पुगेका कारण आपराधिक गतिविधि बढेको र दोषीलाई कारबाही गर्न आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जेनजी पुस्ताले राखेको बताए।

कार्यक्रममार्फत गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्माले प्रदेश उपसचिवमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्रसमेत पठाइएको आयोजनाकर्ताहरूले जानकारी दिएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan