Search
Close this search box.

एकल महिला समूहको सामाजिक लेखापरीक्षण तथा साधारण सभा सम्पन्न

हेटौंडा । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुर बागमती प्रदेशद्वारा आयोजित सामाजिक लेखापरीक्षण तथा ५औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित समूहको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा समूह अध्यक्ष शारदा चौलागाईंको सभाध्यक्षता रहेको थियो भने हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा अध्यक्ष चौलागाईंले संस्थाको वार्षिक प्रतिवेदन, आगामी कार्ययोजना तथा संस्थाले सामना गरिरहेका चुनौतीबारे जानकारी गराइन्। समूहकी सचिव कल्पना आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

सामाजिक लेखापरीक्षण २०८१ साउनदेखि २०८२ साउनसम्मको अवधिको रहेको र लेखापरीक्षण सार्वजनिक लेखापरीक्षक सुशील कुमार ढकालले गरेका थिए। प्रतिवेदनअनुसार समूहले एक वर्षको अवधिमा एकल महिलाका लागि १५ वटा विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिइयो।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष जुना दाहाल, वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईं, अधिवक्ता अप्सरा बस्नेत, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, सिमलटार टोल विकास संस्था अध्यक्ष देवकृष्ण ठक्कर, हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण शाखाकी मन्दिरा थापा तथा समूहकी बागमती प्रदेश अधिकृत अप्सरा अर्याललगायतको उपस्थिति रहेको थियो। अप्सरा अर्यालले सामाजिक लेखापरीक्षणको उद्देश्यबारे स्पष्ट पारेकी थिइन्।

प्रमुख अतिथि उपमेयर बानियाँले एकल महिला भएर पढाउन नसकेका नगरभित्रका सबै बालबालिकालाई नगरपालिकाले पढाउने प्रतिबद्धता व्यक्त गरे। उनले जनप्रतिनिधिका रूपमा सबैलाई सधैँ सहज नहुने अवस्था भए पनि नगरका सबै नागरिकको अभिभावक बनेर पक्षपात नगरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan