हेटौंडा । गजल मञ्च मकवानपुरको २३१ औँ गजल यात्रा मञ्चका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार, कवि एवं गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रम साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल, मकवानपुरको सभाहलमा आयोजना गरिएको हो।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कवि आर. आर. चौलागाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै मञ्चका संरक्षक तथा सल्लाहकार मुक्ति गोविन्द वैद्य, पूर्व अध्यक्ष एवं सल्लाहकार देवराज तिवारी, पूर्व अध्यक्ष मुस्कान तिमल्सिना, साहित्यकारहरू राजकुमार लामिछाने, राजुराम राउत लगायत मकवानपुरमा क्रियाशील विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नियमित गजल यात्राअन्तर्गत राम कार्की, नवीन दर्लामी मगर, राजकुमार चौधरी, अजर फुयाँल, राजुराम राउत, मुस्कान तिमल्सिना, देवराज तिवारी, विशिष्ट अतिथि आर. आर. चौलागाईं तथा प्रमुख अतिथि तुलसी घिमिरेले आ–आफ्ना गजल वाचन, गायन तथा मन्तव्य प्रस्तुत गरेका थिए। प्रस्तुत गजलहरूले साहित्यप्रेमी दर्शक–श्रोताबाट प्रशंसा पाएका थिए।
कार्यक्रम मञ्चकी कोषाध्यक्ष स्वस्तिका दाहालले सञ्चालन गर्नुभएको थियो भने सदस्य प्रविना प्रयासिले स्वागत मन्तव्य राखेका थिए । गजल मञ्च मकवानपुरले निरन्तर रूपमा गजल यात्रामार्फत स्थानीय साहित्यिक गतिविधिलाई सशक्त बनाउँदै आएको आयोजकले जनाएको छ।

