Search
Close this search box.

बागमतीका मुख्यमन्त्री बानियाँले बनाइदिए विपन्न चेपाङको घर

हेटौँडा–बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरिदिएका छन् । आइतबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका–४ धुसराङका लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई घर हस्तान्तरण गरेका हुन् ।

कैलाश गाउँपालिकाले अति विपन्नको रुपमा पहिचान गरी उनीहरुको घर निर्माण गर्न मुख्यमन्त्री बानियाँलाई सिफारिस गरेको थियो । गाउँपालिकाको सिफारिसपछि मुख्यमन्त्री बानियाँले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी केही महिनाअघि घर निर्माण सुरु गराएका थिए । करिब ८ लाख रुपैयाँ लगानीमा ३ वटा कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको नेपाली काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए । पचास वर्षीय लालकुमार विगत लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका थिए । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपांग छिन् । दुई कट्ठा नम्बरी र झण्डै तीन–चार कठ्ठा ऐलानी जग्गा छ, तर आर्थिक अभावका कारण उनीहरू सुरक्षित घर निर्माण गर्न असमर्थ थिए । घर निर्माणसँगै ओढ्ने, ओच्छ्याउनेलगायतका लत्ताकपडाको व्यवस्थापन कैलाश गाउँपालिकाले गरिदिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घोष गरे ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विपन्न नागरिकलाई आफूले सेवा सुविधाको रकम खर्च गरेर घर निर्माण गर्नुका साथै प्रदेश सरकारमार्फत पनि आवास कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरू गाँस, बास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले काम अघि बढाएको बताए । बागमती प्रदेशभरका गरिब निमुखा, दलित, सिमान्तकृत, एकल महिलालगायतलाई समेटेरे एक हजार वटा घर निर्माण गरी हस्तान्तरण गर्ने योजनाका साथ प्रदेश सरकारले कार्यविधि बनाएर अघि बढ्न लागेको उनले सनाए । घर निर्माणसँगै उनीहरुलाई आयआर्जनका लागि बिना ब्याजमा प्रति परिवार २ लाख रुपैयाँ ऋणसमेत दिइने मुख्यमन्त्रीको भनाइ थियो । कार्यक्रमकैबीच मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतिलाई आयआर्जनका लागि बाख्रा पालन गर्न अनुरोध गर्दै नगद २० हजार रुपैयाँसमेत सहयोग हस्तान्तरण गरे ।

मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाको रकमबाट यसअघि मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको ७ लाख रुपैयाँ लगानीमा घर निर्माण गरी हस्तान्तरण गरिसकेका छन् भने राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर पनि निर्माणको क्रममा रहेको छ ।
घर हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालगायतले धन्यवाद मन्तव्य राखेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan