मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ मा १४ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार भएको गम्भीर घटनामा उजुरी परेको करिब एक महिना बितिसक्दा पनि आरोपित अझै पक्राउ नपर्नु प्रति विभिन्न प्रश्न उठ्न थालेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ६५ वर्षीय डिलनाथ अधिकारीले छिमेकीको नातामा बालिकालाई नातिनी वा छोरीसरह माया गर्ने बहानामा लामो समयदेखि ललाइफकाई गर्दै जबर्जस्तीकरणी गर्दै आएका थिए। प्रहरीको भनाइअनुसार घरमा कोही नभएको समयमा खानेकुरा दिने बहानामा पटक–पटक यौन दुर्व्यवहार भएको हो।
अन्तिम पटक कार्तिक २० गते घटना भएको र त्यसपछि पीडित पक्षले मंसिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन्। यसअघि मंसिर १२ गते पीडित बालिकालाई हेटौंडा अस्पतालस्थित ओसिएमसी (OCMC) मा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो।
उजुरी दर्ता भएपछि आरोपित फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुवास चन्द्र बोहोराका अनुसार प्रहरी टोली पटक–पटक गाउँमा पुग्दा आरोपित घरमा फेला नपरेको र प्रहरीको उपस्थिति बढेपछि उनी लुकेको हुन सक्ने आशंका गरिएको छ। “प्रहरीले आफ्नो तर्फबाट खोजी र अनुसन्धान तीव्र बनाइरहेको छ, तर अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन्,” एसपी बोहोराले बताउनुभयो ।
तर, गम्भीर प्रकृतिको अपराधमा उजुरीपछि पनि लामो समयसम्म पक्राउ नहुनुले प्रहरीको प्रारम्भिक प्रतिक्रिया र खोजी रणनीतिमाथि प्रश्न उठ्न थालेका छन्। पीडितलाई शीघ्र न्याय र राहत दिन ढिलाइ हुनु पीडितमैत्री न्याय प्रणालीका लागि चुनौती बनेको सरोकारवालाहरूको भनाइ छ।
माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले आरोपित पक्राउ परे मात्र पीडित बालिकाले न्याय र मानसिक राहत महसुस गर्ने बताइन् । “यस्ता संवेदनशील घटनामा छिटो कारबाही नहुँदा पीडित र परिवार थप त्रासमा पर्छन्,”उनले भनिन् ।
बालिकामाथि यौन हिंसा जस्तो गम्भीर अपराधमा राज्यका निकायले शीघ्र र प्रभावकारी कदम चाल्नुपर्ने भए पनि यो घटनामा देखिएको ढिलाइले पीडितको न्यायप्राप्ति प्रक्रियामै प्रश्न खडा गरेको छ। प्रहरीको खोजी कार्य कहिले निष्कर्षमा पुग्छ भन्ने चासो सर्वसाधारणमा बढ्दै गएको छ।

