नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले भर्चुअल माध्यमबाट पाचौँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । चौतारीकी केन्द्रीय अध्यक्ष कृतिका लौडारीको सभाध्यक्षता तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यको प्रमुख आतिथ्य तथा चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार रमेशमोहन अधिकारी, केन्द्रीय सल्लाहकार एवम् पुरस्कार संस्थापक र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला, गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जित श्रेष्ठ, चौतारीकी गण्डकी प्रदेश संरक्षक गङ्गा कर्माचार्य, चौतारीका कर्णाली प्रदेश संरक्षक जगेश्वर नेपाल, केन्द्रीय सल्लाहकार एवम् पुरस्कार संस्थापक विष्णु न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमकी सभाध्यक्ष कृतिका लौडारीले संस्थाको छोटो विवरणसहित प्रथम अधिवेशनपश्चात आफ्नो नेतृत्वको कार्यसमितिले गरेका कार्यक्रमहरूको विवरण प्रस्तुत गरिन् । २०७७ जेठ १ गते कोरोना कहरको समयको सदुपयोग गर्दै नवसर्जक केन्द्रित अनलाइन प्रशिक्षण कार्यक्रमको सुरुवात भएको थियो । २०७७ पुस ११ गते देश विदेशका नेपाली नवसर्जकलाई एकै छातामुनि गोलबद्ध गराई पठन तथा लेखन संस्कृतिको माध्यमबाट सचेत र सिर्जनशील समाजको निर्माण गर्ने उद्देश्यले नवसर्जक साहित्य चौतारी नेपाल स्थापित भएको थियो । संस्थाको हाल १ केन्द्रीय समिति, ७ प्रदेश समिति, ७ जिल्ला समिति, ३१ एकाइ समिति गठन भएका छन्। स्थापना कालदेखि संस्थाले २५० भन्दा बढी कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विजयराज आचार्यले संस्थालाई पाचौँ वसन्त पार गर्दै छैटौँ वसन्तमा प्रवेश गरेकोमा बधाई एवं शुभकामना वक्त गर्दै संस्थाले ५ वर्षमा पाएको सार्थकताको लागि बधाई ज्ञापन गरे । नेपाल बाल साहित्य समाज नवसर्जक साहित्य चौतारी नेपालसँग सहकार्य गर्न तत्पर रहेको र आफूले विशेष योगदान दिन तयार रहेको समेत बताए । कार्यक्रममा चौतारीका ७ प्रदेशका ७ जना अध्यक्षहरूले प्रदेशगत गतिविधिसहितको विवरण प्रस्तुत गर्दै रचना वाचन गरे । कोशी प्रदेश समिति अध्यक्ष रोशन गड्तौला, मधेश प्रदेश समिति अध्यक्ष अभीजित राम, वागमती प्रदेश समिति अध्यक्ष सुशील आचार्य, गण्डकी प्रदेश समिति अध्यक्ष सुरक्षा गौतम, लुम्बिनी प्रदेश समिति अध्यक्ष जोशिका कँडेल ुनिशाु, कर्णाली प्रदेश समिति अध्यक्ष सावित्री भट्टराई तथा सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष सुनिल बुढा (कछुवा)ले प्रदेशगत विवरण, रचनावाचन तथा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार रमेशमोहन अधिकारीले पाचौँ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै संस्थाको मुखपत्र नवसिर्जना स्मारिकामाथि समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि चौतारीका संरक्षक परिकल्पनाकार दीपक गौतमले संस्थाका सबैलाई बधाई, शुभकामाना व्यक्त गर्दै संस्थामा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दै र सबै प्रदेशलाई थप सक्रियताका लागि हौसला प्रदान गर्दै शुभकामना मन्तव्यसहित रचना वाचन गरे ।
चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको उद्घोषण र उपमहासचिव रचना भण्डारीको स्वागत मन्तव्यसहित सञ्चालन भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष समर्पण न्यौपाने, चौतारीका कर्णाली प्रदेश संरक्षक जगेश्वर नेपालले शुभकामना मन्तव्यसहित रचना वाचन गरेका थिए ।

