हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ का स्थानीय बासिन्दाले १८ वर्ष लामो संघर्षपछि पहिलो पटक आफ्नै घरघरमा धाराबाट खानेपानी पाउन थालेका छन्। पुस्तौँदेखि पानीका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता झेलेका स्थानीयका लागि यो उपलब्धि ऐतिहासिक बनेको छ।
घरघरमा धारा पुगेपछि ६१ वर्षीया लक्ष्मीमाया भ्लोन खुसीले दंग पर्नुभएको छ। विगत सम्झिँदै उनी भन्छिन् , “बिहान ५ बजे उठेर धारामा जान्थ्यौँ। गाग्रीमा पानी बोकेर दिन बित्थ्यो। आधा दिन त पानी ओसार्नमै जान्थ्यो।” खानेपानीको स्रोत बस्तीभन्दा तल भएकाले ढोकोमा पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता थियो। पानीको अभावले खेतीपातीदेखि गाईबस्तु पाल्नसमेत कठिन अवस्था सिर्जना गरेको थियो।
लक्ष्मीमाया भ्लोन अक्षर चिन्दिनन, तर घरघरमा धारा पुर्याउने दृढ इच्छाशक्तिले उनलाई नयाँ खोरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष बनायो। उनी संगै स्थानीयलाई संगठित गर्दै निरन्तर संघर्ष भयो। प्रदेश सरकारबाट बजेट सहयोग उपलब्ध भएपछि योजना अघि बढ्दा करिब ६० घरधुरीले प्रत्यक्ष रूपमा खानेपानीको सुविधा पाउन सफल भएका छन्।
लक्ष्मीमायाका छोरा पूर्णबहादुर भ्लोन पछिल्लो चार वर्षदेखि समितिको अध्यक्ष बनेर योजनाको नेतृत्व सम्हाल्दै आएका छन् । उनले २१ वर्षअघि देखेको सपना साकार पार्नुभएको हो। उनी भन्छन्, “यो मेरो मात्र प्रयास होइन। हामी पुर्खादेखि खोल्साको पानी पिउँदै आएका थियौँ, अहिले सफा र पिउन योग्य पानी २४ घण्टा घरमै आइरहेको छ।”
स्थानीयका अनुसार मकवानपुरगढी–४ विकासका हिसाबले अझै पछाडि परेको वडा हो। सडक सञ्जाल कमजोर हुँदा सहज आवागमनको समस्या कायमै छ। तर गाउँसम्म पानी ल्याउनु असम्भवजस्तै ठानिएको काम सफल भएको उनीहरूको भनाइ छ।
सुरुमा ५ हजार लिटर क्षमताको सानो ट्याङ्कीबाट सुरु गरिएको योजना हाल ६३ हजार लिटर क्षमताको पानी ट्याङ्कीसम्म विस्तार गरिएको छ। प्रदेश सरकारको करिब ५६ लाख रुपैयाँ बजेट र स्थानीयवासीको श्रमदानबाट योजना सम्पन्न भएको हो। अब गाउँमा २४ सै घण्टा नियमित खानेपानी आपूर्ति हुने अपेक्षा गरिएको छ।
नयाँ खोरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार एक कार्यक्रमका बीच खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेको छ। समिति अध्यक्ष पूर्णबहादुर भ्लोनको अध्यक्षता तथा प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा धारामा पानी प्रवाह गरेर आयोजना उद्घाटन गरिएको थियो। कार्य क्रममा गढी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना,वन उपभोक्ता समिति अध्यक्ष सर्कलाल लो, खानेपानी उपभोक्ता समिति सचिव सानुबहादुर तितुङलगायत स्थानीयको उल्लेख्य सहभागिता थियो।
वडा अध्यक्ष तिमल्सिनाले पानीको अभावमा भोग्नुपरेका कठिन दिन सम्झिँदै भने, “घन्टौं लगाएर पानी ओसार्नुपर्थ्यो। बस्तीभन्दा माथि पानीको स्रोत नहुँदा निकै सास्ती थियो। २०६१ सालमा दुई लाख रुपैयाँबाट योजना सुरु गरिएको हो।” उनका अनुसार सबै स्थानीयको सहकार्यले मात्र यो योजना सफल भएको हो। उनले पानीको दिगोपनाका लागि सचेत र मितव्ययी प्रयोग गर्न आग्रह गरे।
प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले आगामी दिनमा थप बजेटको पहल गर्दै वडा अझ सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरिन। “पानी गाउँसम्म ल्याउन योगदान गर्न पाउँदा खुसी लागेको छ,”उनले भनिन् , “आफ्नो ठाउँको विकासका लागि स्थानीय एकजुट भएर लाग्नुपर्छ।”
खानेपानी योजना सफल बनाउन स्थानीय महिलाहरूले बेल्चा चलाएर श्रमदान गरेका थिए। ट्याङ्की निर्माणदेखि पाइप बिछ्याउनेसम्म महिलाको सक्रिय सहभागिताले योजनालाई गति दिएको स्थानीयको भनाइ छ।
१८ वर्षको निरन्तर संघर्ष, एकता र श्रमको परिणामस्वरूप मकवानपुरगढी–४ का नयाँ खोरिया र कुसुमटार गाउँका घरघरमा आज धाराबाट पानी बग्न थालेको छ। अब स्थानीयको एउटै अपेक्षा बाँकी छ—सुगम सडक पहुँच। सडक सुविधा पुगेपछि मात्रै आफू दुरदराजमा बसेको अनुभूति हट्ने उनीहरू बताउँछन्।
हिटाबाट

