मकवानपुर । मकवानपुर जिल्लाका विकट क्षेत्रका दुई गाउँपालिकामा अवैध रूपमा लगाइएको गाँजा र अफिम खेती फडानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा उक्त फडानी गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुस ११ गतेदेखि १४ गतेसम्म बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ गाउँपालिका वडा नम्बर १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका वडा नम्बर १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा अवैध रूपमा गरिएको लागूऔषध खेती नष्ट गरेको हो।
प्रहरीका अनुसार अन्दाजी २१ बिगहा क्षेत्रफलमा लगाइएको गाँजा र ९ बिगहा क्षेत्रफलमा लगाइएको अफिम गरी जम्मा ३० बिगहा खेती फडानी गरी नष्ट गरिएको छ।
मकवानपुरमा पछिल्लो समय दैनिकजसो लागूऔषध ओसारपसारमा संलग्न भरिया पक्राउ पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। यसैबीच, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केही दिनअघि एक चेपाङ दम्पतीलाई घर हस्तान्तरण गर्ने क्रममा गाँजाको रेसाबाट बनेको कोट लगाउँदा केही नहुने तर गाउँलेले गाँजा खेती गर्दा फडानी गर्ने प्रचलन रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि कानुन संशोधन गरी व्यवसायिक रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
मुख्यमन्त्रीको उक्त अभिव्यक्तिपछि केही दिनमै प्रहरीले गाउँस्तरमा पुगेर गाँजा र अफिम खेतीविरुद्ध फडानी गरेको हो। प्रहरीले लागूऔषध नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

