हेटौंडा । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश निर्वाचन कार्यालय परिसरमै स्थापना गरिएको उक्त कार्यालयको बुधबार जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत गीता श्रेष्ठले उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहसँगै श्रेष्ठले औपचारिक रूपमा निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ। कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया सुरु भएको प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिनुभयो।
बागमती प्रदेशमा यसपटक दुई जना राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचनमार्फत एक जना महिला र एक जना अन्य समूहबाट प्रतिनिधि चयन हुनेछन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशसभाका ११० जना सदस्य तथा १३ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना समेत गरेर जम्मा ३४८ जना मतदाता रहेका छन्।
मतभारका आधारमा हेर्दा स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ४ हजार ५२२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८३० रहेको छ। यसरी जम्मा १० हजार ३५२ मतभार कायम भएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ। उक्त विद्यालयमा दुईवटा मतदान केन्द्र रहनेछन्। ‘बी’ ब्लकमा मतदान हुनेछ भने प्राविधिक भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको छ।
बुधबार नै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले मतदान स्थलको निरीक्षणसमेत गर्नुभएको थियो। प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कुल १६ जना कर्मचारी खटाइनेछ।
मतदान प्रक्रियाअनुसार प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसिले मतदान गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसि प्रयोग गर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले मतदान समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ।
निर्वाचन कार्यतालिकाअनुसार पौष १९ गते मतदाता नामावली प्रकाशन हुनेछ। त्यसपछि दाबी–विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन, उम्मेदवारको मनोनयन, उजुरी, नाम फिर्ता तथा निर्वाचन चिन्ह वितरणलगायतका कार्यक्रम क्रमशः सञ्चालन गरिनेछ।
हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका गंगा कुमारी बेलवासे र बेदुराम ढकालको कार्यकाल २०८२ फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि यो निर्वाचन हुन लागेको हो।

