मनहरी–प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौँडाले मकवानपुरको मनहरी खोलामा विभिन्न जातका ५२ हजार माछाका भुरा छाडेको छ । प्राकृतिक जलाशयमा जलीय विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्ने उद्देश्यले केन्द्रले रहु, नैनी र भकुर जातका माछाका भुरा खोलामा छाडेको हो ।
मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ७ नम्बर वडाध्यक्ष ठाकुर तितुङ, केन्द्रका बरिष्ठ मत्स्य विकास अधिकृत बलराम आचार्यलगायतको सहभागितामा मनहरी पुल नजिकैको खोलामा माछामा भुरा छाडिएको हो । माछाको भुरा छाड्ने कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकामा पनि माछा मारेर जिविका चलाउने समुदाय रहेको भन्दै खोलामा माछा उत्पादन बढ्दा उक्त समुदायलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खोलानालामा विभिन्न विद्युतिय उपकरणको प्रयोग गरी माछा मार्ने र विभिन्न केमिकलयुक्त फोहोरले गर्दा खोलानालामा माछाको संख्या घट्न पुगेको बताउदै सबै मिलेर यस्तो कार्य रोक्नुपर्ने उनले बताए ।
केन्द्रका मत्स्य विकास अधिकृत आचार्यले खोलामा माछाको भुरा छाड्दा माछा मारेर जिविकोपार्जन गर्ने समुदायलाई फाइदा पुग्नुका साथै माछा खाएर बाँच्ने जीवहरुलाई सहजता भई जैविक विविधता कायम रहन सहयोग पुग्ने विश्वास लिए ।

