Search
Close this search box.

मकवानपुरमा जबजका आयाम लोकार्पण

हेटौंडा । मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा प्रकाशित पुस्तक ‘जबजका आयाम’ शुक्रबार हेटौंडामा लोकार्पण गरिएको छ। नेपालका प्रख्यात कम्युनिस्ट नेता तथा जनताको बहुदलीय जनवाद (जबज) का सिद्धान्तकार जननेता मदन भण्डारीको विचार, दर्शन र बहसलाई समेट्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको थियो। प्रा.डा. शंकरप्रसाद उपाध्याय, घनश्याम घिमिरे र बोलबहादुर कार्कीले सम्पादन गर्नुभएको पुस्तकमा मकवानपुरको कम्युनिस्ट आन्दोलन, वैचारिक लेख, शैक्षिक, औद्योगिक तथा सामाजिक विषयका सामग्री समेटिएका छन्। साथै अन्तरवार्ता र फाउन्डेसनले आयोजना गरेको कविता प्रतियोगिताबाट छनोट गरिएका उत्कृष्ट कविता पनि पुस्तकमा समावेश छन्।

पुस्तकमाथि हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज पोखरेल र रमेशमोहन अधिकारीले समीक्षात्मक टिप्पणी गरे। समीक्षकहरूले जबजलाई केवल पार्टी दस्तावेजका रूपमा नभई समाज, साहित्य, कला, संस्कृति, शिक्षा र अर्थतन्त्रसँग जोडिएको सामाजिक अभ्यासका रूपमा बुझ्नुपर्नेमा जोड दिए। मदन भण्डारीको जीवन, विचार र राजनीतिक यात्राबारे बुझ्न चाहने पाठकका लागि पुस्तक उपयोगी हुने उनीहरूको धारणा थियो।

समीक्षक पोखरेलले पुस्तकमा लोकतान्त्रिक प्रतिस्पर्धा, सांस्कृतिक, आर्थिक र सामाजिक पक्षसहित जबजका विविध आयाम प्रस्तुत गरिएको उल्लेख गर्दै यसलाई वैचारिक, सन्दर्भिक र सृजनात्मक तीन आयाममा वर्गीकरण गर्न सकिने बताए। कार्यक्रममा जबजमाथि आलोचनात्मक लेखहरू पनि थपिनुपर्ने र पुस्तकलाई विद्यार्थी तथा कलेजका पुस्तकालयसम्म पुर्‍याउनुपर्ने सुझाव दिइयो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले जबज मदन भण्डारीको विचार र व्यक्तित्वलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे। उनले जबज नेपालमै सीमित नभई विश्व कम्युनिस्ट आन्दोलनमा समेत प्रभाव पार्न सफल भएको दाबी गरे।

सम्पादक मण्डलका तर्फबाट घनश्याम घिमिरेले जबजलाई कम्युनिस्टहरूका लागि मात्र नभई समग्र समाजका लागि उपयोगी वैचारिक र व्यवहारिक सिद्धान्तका रूपमा बुझ्नुपर्ने धारणा राखे ।

फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रियसभा पूर्व सदस्य केदार न्यौपाने, संविधानसभा सदस्य दिलबहादुर घिसिङ, विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan