मनहरी– गाउँपालिका क्षेत्रमा सञ्चालन हुने विकास निर्माण लगायत सेवा प्रवाहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरको मनहरी गाउँपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति कार्यान्वयन सम्बन्धी कार्यक्रम गरेको छ । गाउँपालिकाको सभाहल लामिटारमा २ दिनसम्म सरोकारवालालाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
गाउँपालिकाको सामाजिक विकास शाखाको आयोजनामा पुस १७ र १८ गते भएको कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु साथै महिला समन्वय समिति, जेष्ठ नागरिक समन्वय समिति, दलित समन्वय समिति, जनजाति समन्वय समिति, अपाङ्ग समन्वय समिति तथा मनहरी मानव अधिकार समूह र बाल संजालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखामा कार्यरत विष्णु कुमारी लामिछानेले प्रशिक्षण प्रदान गरेकी थिइन् । गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्यालको सभाध्यक्षमा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरुलगायतको आतिथ्यता रहेको थियो सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले कार्यक्रममा सहजीकरण गरेका थिए ।


