Search
Close this search box.

मातृभूमि साहित्य समाजद्वारा  स्रष्टा र कलाकारलाई विविध पुरस्कार तथा सम्मान

हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले साहित्य, संगीत र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ। शनिबार हेटौंडामा आयोजित विशेष कार्यक्रममा समाजले विभिन्न विधामा योगदान पुर्‍याएका स्रष्टा र अभियन्तालाई सम्मान गरेको हो।

कार्यक्रममा चर्चित गायिका कुन्ती मोक्तानलाई नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार २०८१ प्रदान गरिएको छ। उहाँलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। त्यस्तै, नियात्राकार तथा कवि भवानी खतिवडालाई मायादेवी मातृभूमि पुरस्कार २०८१ अन्तर्गत २१ हजार रुपैयाँ प्रदान गरिएको छ।

यस वर्षको मातृभूमि साहित्य पुरस्कार २०८१ वरिष्ठ साहित्यकार प्राध्यापक डा. लक्ष्मण प्रसाद गौतमलाई २५ हजार रुपैयाँसहित प्रदान गरिएको थियो। साथै, श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार रोशन परियारलाई १५ हजार रुपैयाँसहित प्रदान गरियो भने शारदा उप्रेती स्मृति मातृभूमि सम्मान कलासाधक जीवन केसीलाई १० हजार रुपैयाँसहित प्रदान गरिएको छ। सामाजिक अभियन्ता विश्वकान्ति कलावती सुमार्गी पराजुलीलाई मकवानपुर श्री सम्मान प्रदान गरिएको समाजले जनाएको छ।

कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, डा. श्याम सुवेदी तथा लायन्स क्लब एस–३२५ की सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर अंकिता सुमार्गीलाई पनि विशेष सम्मान गरिएको थियो।

साहित्यिक कार्यक्रमअन्तर्गत मकवानपुरसहित विभिन्न जिल्लाबाट सहभागी साहित्यकारहरूले एक दर्जनभन्दा बढी रचना वाचन गरेका थिए। यसै अवसरमा गायिका कुन्ती मोक्तानले आफ्ना चर्चित तथा कालजयी गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक रंग दिइन।

कार्यक्रममा महिला साहित्यकारहरूको साहित्यिक यात्राबारे परिसंवादसमेत आयोजना गरिएको थियो। परिसंवादमा नियात्राकार भवानी खतिवडा, साहित्यकार मुना अर्याल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा तथा झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेती सहभागी थिए। वक्ताहरूले महिलाहरूमा साहित्यप्रति रुचि हुँदाहुँदै पनि घरायसी जिम्मेवारीका कारण समय व्यवस्थापन चुनौतीपूर्ण हुने अनुभव साझा गरे। यद्यपि पछिल्लो समय महिलाहरूले घरायसी र पेशागत भूमिकासँगै साहित्य सिर्जनामा पनि उल्लेखनीय सफलता हासिल गरिरहेको उल्लेख गरिएको थियो।

समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा प्राध्यापक डा. लक्ष्मण प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिटिइभिटी निर्देशक डा. शान्ति लामा, साहित्यप्रेमी मुक्ति गोविन्द बैद्य, वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानलगायत मकवानपुर, चितवन र आसपासका जिल्लाबाट आएका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan