राक्सिराङ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले औषधीय गुणयुक्त गाँजालाई बैधानिकता दिनको लागि गाँजासम्बन्धी विधेयक ल्याइने प्रतिवद्धता जनाएका छन् । बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको १९ औँ अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले संसदबाट गाँजासम्बन्धी विधेयक पारित गरी आवश्यक नियम र कार्यविधि बनाएर गाँजालाई प्रशोधन गरी विभिन्न सामाग्री उत्पादन गर्न प्रोत्साहित गरिने प्रतिवद्धता जनाएका हुन् ।
‘अब गाँजालाई व्यवस्थित गर्नुछ । गण्डकी प्रदेश सरकारले पनि गाँजासम्बन्धी विधेयक ल्याइसकेको छ । हामीले पनि विधेयक गरेपछि ऐन कानुन नियम कार्यविधि बनाएर संघ प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी गाँजालाई प्रशोधन गरी तेलदेखि क्यान्सरको रोग निको हुने औषधि बनाउनेतर्फ लाग्नुपर्नेछ । अब कुरामा अलमलिने बेला छैन ।’ मुख्यमन्त्री बानियाँले भने । मुख्यमन्त्री बानियाँले घरेलु मदिरालाई ब्राण्डिङ गर्नको लागिसमेत प्रदेश सरकारले कानुन बनाउन लागेको जानकारी दिए । विदेशबाट आयातित मदिरा न्युनीकरण गर्दै घरेलु मदिरालाई ब्रान्डिङ गर्ने योजना आफूहरुको रहेको उनले सुनाए । ‘कोदो, मकै, किबी, गिट्ठा जस्ता अन्न र फलफूलबाट घरेलु मदिरा उत्पादन गरी विदेशमा समेत बेच्न सक्ने बनाउने हाम्रो योजना छ । घरेलु मदिरा प्रहरीले फाल्ने अवस्था थियो । अब त्यो समस्या हट्नेछ ।’ मुख्यमन्त्री बानियाँले भने ।
मुख्यमन्त्री बानियाँले अहिले विकट गाउँहरुमा पूर्वाधार विकासले तीव्रता पाइरहेको भन्दै यो नै गणतन्त्र र संघीयताको महत्वपूर्ण उपलब्धी भएको बताए । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका पनि संघीयतापछि विभिन्न विकासका काम हुँदै सुगमतर्फ उन्मुख हुँदै गएको बताए । गाउँपालिकामा थप सडक विस्तार, पुल निर्माणलगायतमा प्रदेश सरकारले लगानी गरिरहेको र थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता पनि उनले जनाए । मनहरीबाट परेवाभीर हुँदै मलेखु निस्कने सडकलाई प्राथमिकताका साथ प्रदेश सरकारले बजेट विनियोजन गरी काम अघि बढाइने पनि मुख्यमन्त्री बानियाँले बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मुख्यमन्त्री बानियाँका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मनहरी ३ नम्बर वडाका अध्यक्ष उत्तम वाइबा, पूर्व वडाध्यक्ष बाबुलाल स्याङ्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकैबीच विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई गाउँपालिकाले सम्मानसमेत गरेको थियो । हिउँदे अधिवेशन उद्घाटनसँगै मुख्यमन्त्री बानियाँले गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनसमेत उद्घाटन गरेका थिए ।



