Search
Close this search box.

सुविधासम्पन्न नवनिर्मित भवनबाट राक्सिराङकाे सेवा

हेटौंडा —मकवानपुर जिल्लाको विकट पालिकामध्येको एक राक्सिराङ गाउँपालिकाले आफ्नो नवनिर्मित सुविधासम्पन्न प्रशासकीय भवनबाट सेवा सुरु गरेकाे छ । नवनिर्मित भवनकाे बुधबार बागमती  प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।

मुलुक संघीय संरचनामा गइसकेपछि २०७३ सालमा स्थापित स्थानीय तहले ९ वर्षपछि आफ्नै प्रशासकीय भवनबाट सेवा दिन सुरु गरेकाे हाे । गाउँपालिका स्थापनापछि पालिका केन्द्र चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयको छात्राबास भवन र स्वास्थ्यचौकी भवनलाई मर्मत सुधार गरी गाउँपालिकाले सेवा सुचारु गरेको थियो । २०७८ साल असारबाट पालिका केन्द्र चैनपुरमै करिब ७ कट्ठा जमिनमा पालिका भवन निर्माण थालिएको थियो । निर्माण थालिएको करिब साढे चार वर्षपछि पालिकाको चारतले ४३ कोठे भवन निर्माण सम्पन्न गरिएको थियाे ।

६ करोड ४२ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी जयमाता इन्जिनियरिङ निर्माण कम्पनीसँग सम्झौता गरी काम थालिएको थियो । ०८२ असार मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयभन्दा चार महिना ढिला गरी निर्माण पक्षले काम सकेको थियाे । नयाँ भवन निर्माण भएसँगै पालिकाको कार्यालय र सबै शाखाले एउटै छानामुनिबाट सेवा प्रदान गर्न सहज भएकाे गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा भवन निर्माण भएको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan