हेटौंडा । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन १ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। बिहीबार हेटौँडामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले हालसम्म भएका आन्दोलनले जनताले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन दिन नसकेको भन्दै अब निर्णायक संघर्ष आवश्यक भएको बताए।
प्रसाईंले आगामी २१ फागुनमा प्रस्तावित निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै अहिलेको प्राथमिक आवश्यकता चुनाव नभई व्यवस्था र नेतृत्वप्रति बढ्दो जनअसन्तोषको सम्बोधन भएको धारणा राखे। उनका अनुसार जनताको मुद्दा बेवास्ता गरेर गरिने निर्वाचनले समस्या समाधान गर्न सक्दैन।
उनले जेन–जी आन्दोलनलाई दुरुपयोग गर्दै वर्तमान सरकार गठन गरिएको आरोप लगाए। पश्चिमी शक्तिहरूको प्रभावमा सरकार बनेको र पुनः निर्वाचनमार्फत उनीहरूकै अनुकूल व्यक्ति प्रधानमन्त्री बनाउन खोजिएको दाबी गर्दै उनले यसप्रति सतर्क रहन जनतालाई आग्रह गरे।
नेपाललाई युक्रेनजस्तो अस्थिरतामा धकेल्ने प्रयास भइरहेको भन्दै प्रसाईंले देशको सार्वभौमिकता र जनहितविपरीत हुने कुनै पनि गतिविधिको कडा प्रतिरोध गरिने चेतावनी दिए। उनले ‘नेतृत्व आयात गर्ने’ प्रवृत्तिविरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा प्रसाईंले हेटौँडामा भइरहेको सडक विस्तारप्रति पनि कडा आपत्ति जनाए। बस्तीको बीचबाट सडक विस्तार गर्नु गलत भएको भन्दै मुख्य राजमार्ग बाइपासमार्फत लैजानुपर्ने उनको सुझाव थियो। सडक विस्तारका कारण व्यवसाय विस्थापित हुनुका साथै बैंकको उच्च ब्याजदरले व्यवसायी थप संकटमा परेको उनले बताए।
सडक विस्तारबाट प्रभावितले उचित क्षतिपूर्ति नपाएसम्म संघर्ष जारी रहने संकेत गर्दै प्रसाईंले हेटौँडाका व्यवसायीहरूलाई संगठित आन्दोलनको बाटो अपनाउन आग्रह गरे।


