Search
Close this search box.

हेटौंडामा आधुनिक पानी परीक्षण प्रयोगशाला सुरु

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपमहानगरपालिकावासीलाई सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। बोर्डको कार्यालय परिसरमै निर्माण गरिएको प्रयोगशालाको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा स्थापना भएको प्रयोगशालाको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरिन्। उद्घाटन समारोहमा मेयर लामाले खानेपानीसँगै ढल व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर उपमहानगरपालिका अघि बढिरहेको बताइन्। उनले व्यवस्थित र स्वस्थ शहर निर्माण उपमहानगरपालिकाको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरिन्।

कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले हाल हेटौंडामा दैनिक करिब ३ करोड ६० लाख लिटर पानी उत्पादन भइरहेको जानकारी दिँदै सबै पानी उपभोगमा नआएको बताए। उनका अनुसार अब सञ्चालनमा आएको प्रयोगशालामार्फत बोर्डअन्तर्गत रहेका ५५ वटै पानीका मुहानको महिनामा एक पटक अनिवार्य परीक्षण गरिनेछ। यसले पानीको गुणस्तर वैज्ञानिक र विश्वसनीय रूपमा सुनिश्चित गर्ने विश्वास लिइएको छ।

प्रयोगशालाको सेवा मकवानपुर जिल्लामा मात्र सीमित नरहने र छिमेकी जिल्लाका उपभोक्ताले समेत पानी परीक्षण गराउन सक्ने अध्यक्ष विष्टले बताए।

बोर्डका सूचना अधिकारी सन्जय न्यौपानेका अनुसार प्रयोगशालाका लागि ३१ लाख रुपैयाँ लागत अनुमान गरी टेन्डर आह्वान गरिएको थियो। टेन्डर प्रक्रियामार्फत काठमाडौँस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति तथा जडानको जिम्मा लिएको थियो। कम्पनीले चार महिनाभित्र सबै आवश्यक उपकरण जडान सम्पन्न गरेको हो।

बोर्डका प्रशासन प्रमुख माधव चौलागाईंले प्रारम्भिक चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार तोकिएका २८ परीक्षणमध्ये १४ वटा भौतिक, रासायनिक तथा सूक्ष्म जैविक परीक्षण गरिने जानकारी दिए।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटालगायत वक्ताहरूले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपभोक्तालाई प्रभावकारी सेवा दिँदै आएको भन्दै प्रशंसा गरेका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan