Search
Close this search box.

कुलेखानी–काठमाडौं सडकमा लागूऔषध सेवन गर्ने चालक फेला

हेटौंडा । कुलेखानी–काठमाडौं सडकखण्डमा चल्ने सवारी साधनका केही चालकहरूले लागूऔषध सेवन गरी सवारी चलाइरहेको तथ्य संयुक्त चेकजाँचका क्रममा बाहिर आएको छ।

मंगलबार भीमफेदी अस्पतालका चिकित्सक प्रविण पाठकको नेतृत्वमा गरिएको पिसाब परीक्षणमा १ सय ११ जना चालक मध्ये ११ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा र सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौंडाको सहकार्यमा चेकजाँच गरिएको थियो।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठका अनुसार लागूऔषध सेवन गर्ने ११ जना मध्ये ९ जना सार्वजनिक यातायातका चालक रहेका छन्। तीमध्ये ६ जना टाटा सुमो चालक र ३ जना विद्युतीय सवारी (ईभी) चालक हुन्। बाँकी दुई जना फलफूल र माछा बोक्ने सवारी साधनका चालक रहेको प्रहरीले जनाएको छ।

पहाडी क्षेत्रको घुमाउरो र साँघुरो सडकमा दुर्घटनाको जोखिम बढ्दै गएपछि चालक र सवारी साधनको नियमित परीक्षण सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ। गत पुस २० गते भीमफेदी गाउँपालिका–६ जुरिखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो भने ३ जना घाइते भएका थिए।

हाल घाइतेको उपचार जारी रहेको छ। यात्रुको ज्यान जोखिममा पार्दै लापरबाहीपूर्वक सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फुँयालले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan