Search
Close this search box.

राक्सिराङ्ग गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक बिदा

हेटौंडा । तामाङ समुदायको सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ (ता ल्हो/घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पश्चिम मकवानपुरस्थित राक्सिराङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मंगलबार शुभकामना सन्देश जारी गर्दै यही माघ ४ र ५ गते गाउँपालिका भित्र सार्वजनिक बिदा रहने जानकारी दिएका हुन् ।

माघ ५ गते माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासका साथ मनाइने सोनाम ल्होछारको अवसरमा अध्यक्ष मल्लले शुभकामना व्यक्त गर्दै यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा जातीय विविधतायुक्त राक्सिराङ्ग गाउँपालिकामा आपसी सद्भाव, सामाजिक एकता, बन्धुत्व, प्रेम र समताको भावना अभिवृद्धि गर्दै शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ्ग निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गरे।

तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ्ग गाउँपालिकामा पर्वलाई खुशीयालीपूर्वक मनाउन सार्वजनिक बिदाका दिन गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघ–संस्था तथा बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्।

“सबै पर्वलाई सम्मानजनक र उल्लासमय रूपमा मनाउन राष्ट्रिय तथा स्थानीय पर्वहरूमा गाउँपालिकाले सार्वजनिक बिदा दिने परम्परा कायम गरेको छ,” अध्यक्ष मल्लले भने।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan