Search
Close this search box.

हेटौंडामा खेलकुद, कृषि, पर्यटन र व्यापार जोड्ने महोत्सव माघ २८ देखि


हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा दोस्रो बृह्त खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव माघ २८ गतेदेखि सुरु हुने भएको छ । हेटौंडा–१० स्थित टिसीएन चौरमा आयोजना हुने महोत्सव फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजकुमार मोक्तानले खेलाडीलाई खेल जीवनमै सुरक्षित र आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए । उनले खेलाडीको विदेश पलायन रोक्दै खेलकुद, पर्यटन र व्यवसायलाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्य रहेको बताए ।

महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नेछन् भने समापन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले गर्ने कार्यक्रम तय भएको छ ।

महोत्सवमा राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन, कराँते प्रतियोगिता तथा २२ किलोमिटर दौड आयोजना गरिनेछ । साथै उत्कृष्ट १० जना खेलाडीलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दुई सान्त्वना टोलीले जनही ५० हजार रुपैयाँ पाउनेछन् । पुरुष भलिबलतर्फ विजेता र उपविजेताले क्रमशः १ लाख र ५० हजार रुपैयाँ हात पार्नेछन् । कराँते र २२ किलोमिटर दौडका विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा विस्थापित व्यवसायीलाई अवसर दिने उद्देश्यले महोत्सवमा करिब ४ सय व्यवसायिक स्टल राखिनेछ । प्रत्येक स्टलका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने दर्शकका लागि प्रवेश शुल्क १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र नष्ट खेल सामग्री खरिदका लागि महोत्सवबाट संकलित आम्दानी प्रयोग गरिने जनाइएको छ । महोत्सव सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan