Search
Close this search box.

मकवानपुरमा २१ फागुनको निर्वाचनका लागि ४४ उम्मेदवार मैदानमा

मकवानपुरमा २१ फागुनको निर्वाचनका लागि ४४ उम्मेदवार मैदानमा

मकवानपुर । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर जिल्लाबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले तोकेको मनोनयन तालिकाअनुसार मंगलबार दलका तर्फबाट २९ जना र स्वतन्त्रतर्फ १५ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लामा दुई वटा संघीय निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नम्बर १ मा २३ जनाको उम्मेदवारी परेको छ। तीमध्ये १३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् भने १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस्तै क्षेत्र नम्बर २ मा दलका तर्फबाट १६ जना र स्वतन्त्रतर्फ ५ जना गरी कुल २१ जनाले मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी माओवादी, मंगोल नेशनल अर्गनाइजेशन, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, आम जनता पार्टी र नेशनल रिपब्लिक पार्टीले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्।

एमालेबाट क्षेत्र नम्बर १ मा रामेश्वर राना र क्षेत्र नम्बर २ मा पूर्व सांसद महेश बर्तोलाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र क्षेत्र नम्बर २ मा जिल्ला सभापति बुद्ध लामाले मनोनयन दर्ता गराएका छन्।

नेकपाबाट क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा लवशेर विष्ट उम्मेदवार बनेका छन्। राप्रपाबाट क्षेत्र नम्बर १ मा दीपक बहादुर सिंह र क्षेत्र नम्बर २ मा राम बहादुर थोकरले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर १ मा प्रकाश गौतम र क्षेत्र नम्बर २ मा प्रशान्त उप्रेती चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट क्षेत्र नम्बर १ मा तेज प्रसाद उप्रेती र क्षेत्र नम्बर २ मा सन्तोष विष्ट उम्मेदवार बनेका छन्। श्रम संस्कृति पार्टीबाट क्षेत्र नम्बर १ मा विद्या श्रेष्ठ र क्षेत्र नम्बर २ मा युनिश लामाले उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्रतर्फ क्षेत्र नम्बर १ मा १० जना र क्षेत्र नम्बर २ मा ५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारमा विभिन्न पालिकाका सामाजिक तथा राजनीतिक व्यक्तित्वहरू सहभागी रहेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan