हेटौंडा । हेटौंडा–४ हुप्राचौरमा संजिवनी अटिजम केयर सेन्टरको औपचारिक समुद्घाटन गरिएको छ। शुक्रबार सरस्वती पूजाको शुभ अवसरमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले समुद्घाटन गर्दै सेन्टरको शुभारम्भ गरेका हुन्।
समुद्घाटन समारोहमा बोल्दै उपमेयर बानियाँले आगामी दिनमा बजेट नै विनियोजन गरेर अटिजम केयर सेन्टरलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय सरकारले अटिजम भएका बालबालिकाका लागि आवश्यक प्राविधिक सहयोग, थेरापी मेसिन तथा सामग्री उपलब्ध गराउने बताउँदै, बालबालिकाको जीवनस्तर सुधारका लागि नगरपालिकाले पछि नहट्ने स्पष्ट पारे। आवश्यक परे बाटोघाटो निर्माणको बजेट कटौती गरेर पनि सामाजिक क्षेत्रमा लगानी गर्ने उनको भनाइ थियो। हेटौंडामा अटिजम भएका बालबालिकाको संख्या बढ्दै गएकाले बजेट निर्माणका बेला स्थानीय र प्रदेश सरकारलाई समेत ध्यान दिन आग्रह गरे।
कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले सरकारले सबै काम गर्न नसक्ने भन्दै यस्ता सेवामूलक संस्थाहरूले कार्यविधि पूरा गरेर अघि बढ्नुपर्ने बताए। जनप्रतिनिधिहरूले पूर्वाधारसँगै सामाजिक क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।
१६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले कार्यक्रममा नगद ५ हजार रुपैयाँ सहयोग गर्दै चालु वर्षका दुई महिनाको कोठा भाडा आफ्नै खर्चमा तिरिदिने घोषणा गरे।
वरिष्ठ बाल रोग विशेषज्ञ डा. हरि खड्काले बालिकाको तुलनामा बालकमा अटिजम बढी देखिने तथ्यांक रहेको जानकारी गराउँदै, अटिजम भएका बालबालिकाप्रति राज्यको विशेष ध्यान आवश्यक रहेको बताए। अटिजमको स्थायी उपचार नभए पनि थेरापी नै मुख्य उपचार भएको र यो खर्चिलो हुने भएकाले सबै अभिभावकले सहजै उपचार गराउन नसक्ने अवस्था रहेको उनले बताए। साथै, अटिजमका लक्षणबारे समेत जानकारी गराए।
अटिजम भएका बालबालिकाका अभिभावकहरू सुनिता सापकोटा, प्रमिला लुइँटेल, लक्ष्मी सापकोटा र अस्मिता पौडेलको पहलमा सेन्टर स्थापना गरिएको हो। अध्यक्ष सुनिता सापकोटाका अनुसार करिब १६ लाख रुपैयाँ लगानीमा आफ्नै अटिजम भएका बालबालिकालाई लक्षित गरी सेन्टर सञ्चालन गरिएको हो। हाल सेन्टरमा ९ जना बालक र १ जना बालिका रहेका छन्। देश तथा विदेशबाट केही सहयोगी मनहरूले सहयोग गरिरहेको पनि उनले जानकारी दिइन्।
हाल ६ वटा कोठा भाडामा लिएर सञ्चालन भइरहेको सेन्टरमा १६ जनासम्मको क्षमता रहेको छ। आवश्यक परे आगामी दिनमा अन्य स्थानमा स्थानान्तरण गर्ने योजना रहेको जनाइएको छ।
कार्यक्रममा सहभागी एक अभिभावकले अटिजम भएका बालबालिकाका कारण परिवारको सन्तुलन नै खलबलिने, आमाले रोजगारी छोड्नुपर्ने बाध्यता आउने जस्ता समस्या रहेको बताए।
संजिवनी अटिजम केयर सेन्टरका अध्यक्ष डिल्लीराम पोख्रेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, १७ नम्बर वडा अध्यक्ष उद्घव सत्याल, समाजसेवी रघुरमन न्यौपाने लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आशिष दुलालले गरेका थिए।



