Search
Close this search box.

आर्थिक अभावले थलिएको जीवनमा अध्यक्ष कालाखेती बने आशाको किरण

मकवानपुर । आर्थिक अभावका कारण उपचारबाट वञ्चित भई पीडामै जीवन बिताइरहेका एक नागरिकका लागि मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती आशाको किरण बनेर उभिनुभएको छ। गाउँपालिकाभित्रका कुनै पनि नागरिकले पैसाको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने मानवीय दायित्वलाई आत्मसात् गर्दै अध्यक्ष कालाखेतीले क्यान्सर पीडित एक नागरिकको उपचारमा सक्रिय भूमिका निर्वाह गर्नुभएको हो।

मनहरी गाउँपालिका–१ गोगनपानी निवासी ४४ वर्षीय विष्णु प्रसाद बर्तौला विगत एक वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित छन्। सुरुमा सामान्य अल्सरको शल्यक्रिया गराएका बर्तौलामा अप्रेसनपछि क्यान्सर पुष्टि भयो। घरका एकमात्र कमाउने व्यक्ति उनी स्वयं भएकाले रोगले थलिँदै गएपछि ज्यालामजदुरी गर्नसमेत असमर्थ बने।

आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले समयमै अस्पताल पुग्न नसकेका बर्तौलाले लामो समय घरमै असह्य पीडा सहँदै जीवन बिताउनुपर्‍यो। उपचार खर्च जुटाउन परिवारले घरमा पालेका पशु बेच्ने, आफन्तसँग गुहार माग्ने जस्ता सबै सम्भव उपाय अपनाइसकेको थियो। तर औषधि किन्ने पैसासमेत नहुँदा उनी निरन्तर पीडामा रहँदै आएका थिए।

यस दयनीय अवस्थालाई देखेर स्थानीय समाजसेवी राममणि न्यौपानेको अगुवाइमा केही दिनदेखि “विष्णु बर्तौला बचाऔँ अभियान” सञ्चालनमा आयो। अभियानमार्फत देश–विदेशमा सहयोगको अपिल गरिएको थियो। यही अभियानबारे जानकारी पाएपछि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती स्वयं उपचार प्रक्रियामा जोडिनुभएको हो।

मंगलबार अध्यक्ष कालाखेती भरतपुर क्यान्सर अस्पताल पुगेर पीडित बर्तौलासँग प्रत्यक्ष भेटघाट गर्नुभयो। उहाँले उपचारमा संलग्न चिकित्सकहरूसँग विस्तृत छलफल गर्दै रोगको अवस्था, उपचारको सम्भावना, आवश्यक प्रक्रिया र आगामी योजनाबारे काउन्सेलिङ गर्नुभएको छ। उपचार सहज बनाउन अस्पताल, परिवार र सहयोगीहरूसँग समन्वयसमेत गर्नुभएको छ।

अध्यक्ष कालाखेतीले भन्नुभयो,“पालिकाभित्र आर्थिक अभावका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो स्पष्ट नीति हो। विष्णु बर्तौलाको उपचारमा पालिकाबाट सम्भव सबै सहयोग गरिनेछ।”

उहाँले आगामी दिनमा पनि उपचार निरन्तर गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

हाल विष्णु प्रसाद बर्तौलाको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उपचारमा लाखौँ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। तर गाउँपालिका अध्यक्षको सक्रियताको कारण अब बर्तौलाको जीवनमा आशाको उज्यालो देखिन थालेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan