Search
Close this search box.

मकवानपुरमा माघ २५ देखि एचपीभी खोप लगाइँदै, ४ हजारभन्दा बढी किशोरी लक्षित

हेटौंडा । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुर जिल्लामा यही माघ २५ गतेदेखि एचपीभी खोप अभियान सुरु हुने भएको छ। नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिएका छन्।

सोमबार हेटौँडामा सम्पन्न नियमित खोप तथा विद्यालय केन्द्रित एचपीभी खोप सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाहरूसँगको बहस तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त प्रमुख घिमिरेले मकवानपुरका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत १० वर्ष उमेर समूहका ४ हजार ४ सय ३ जना किशोरीलाई खोप लगाइने बताए।

उनका अनुसार, खोप अभियान फागुन १ गतेसम्म विद्यालय केन्द्रित रूपमा सञ्चालन गरिनेछ। विद्यालयमा अध्ययन नगरेका वा अभियानका क्रममा छुटेका किशोरीलाई भने फागुन २२ गतेसम्म स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवाबाट खोप उपलब्ध गराइने जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिए।

रिमालका अनुसार, खोप कार्यक्रम पहिलो र दोस्रो चरण गरी दुई चरणमा सञ्चालन गरिनेछ। स्वास्थ्यकर्मीहरूले एचपीभी खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन महत्वपूर्ण सहयोग गर्ने भएकाले लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेका छन्।

हरेक वर्ष फागुन महिनामा लगाइने भनिएको यो खोप यस वर्ष भने प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण समय अगावै सञ्चालन गर्न लागिएको हो। उक्त खोप नियमित रूपमा उपलब्ध हुने समेत निमित्त प्रमुख घिमिरेले स्पष्ट पारे।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan