हेटौंडा । मुग्लिन क्षेत्रका होटल तथा लजहरूमा बालश्रममा संलग्न गराइएका ९ देखि १६ वर्ष उमेर समूहका ६ जना बालबालिकाको उद्धार गरिएको छ। रामायण होटल मारवाडी शुद्ध साकाहारी भोजनालय एण्ड गेष्ट हाउस तथा दर्शन होटल एण्ड लजबाट २ बालिका सहित ६ बालकको संयुक्त टोलीले उद्धार गरेको हो।
बाल हेल्पलाइन मकवानपुर, श्रम तथा रोजगार कार्यालय, इलाका प्रहरी कार्यालय मुग्लिन तथा स्थानीय निकायको संयुक्त उपस्थितिमा माघ १८ गते उद्धार कार्य सम्पन्न भएको बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक तथा प्रदेश बाल अधिकार समितिका सदस्य झबिन्द्र ज्ञवालीले जानकारी दिए। उद्धार गरिएका बालबालिका हाल बाल हेल्पलाइनको संरक्षणमा रहेका छन्।
मुग्लिनमा होटलमा काम गरिरहेका बालबालिकाको तस्बिर खिचेर काठमाडौंस्थित बाल हेल्पलाइनको केन्द्रीय कार्यालयमा पठाइएपछि १०९८ बाल हेल्पलाइनमा सूचना पुगेको थियो। उक्त सूचनाका आधारमा राष्ट्रिय बाल अधिकार परिषद्, बाल हेल्पलाइन र श्रम तथा रोजगार कार्यालयबीच समन्वय गरी संयुक्त टोली गठन गरि चितवन पठाइएको थियो।
संयुक्त टोलीमा श्रम तथा रोजगार कार्यालयका प्रतिनिधि, बाल हेल्पलाइन प्रबन्धक झविन्द्र ज्ञावली, प्रदेश बाल अधिकार समितिकी सदस्य मन्जु बैरागी ठकुरी, इलाका प्रहरी कार्यालय मुग्लिन, इच्छाकामना गाउँपालिकाका बालकल्याण अधिकारीलगायत सहभागी थिए।
अनुगमनका क्रममा मुग्लिन क्षेत्रका थुप्रै होटल तथा लजहरूको जाँच गरिएको थियो। केही होटलहरूले बालश्रममा संलग्न बालबालिकालाई लुकाउने प्रयाससमेत गरेको पाइएको ज्ञावलिले बताउनुभयो । “अन्त्री होटलमा बालबालिकालाई कामदारको रूपमा राखिएको भए पनि लुकाइएको अवस्था भेटियो,” उहाँले भन्नुभयो, “तर अन्ततः ६ जनाको उद्धार गर्न सफल भयौं।”
उद्धार गरिएका बालबालिकाले आफूहरूलाई चरम शारीरिक तथा मानसिक यातना दिने गरेको बताएका छन्। महिनाको ४ देखि ५ हजार रुपैयाँ तलब दिने भनिए पनि नियमित रूपमा नदिइने, राति लामो समयसम्म काम गर्न बाध्य बनाइने तथा पढ्ने उमेरका बालबालिकालाई विद्यालय जान नदिने गरिएको उनीहरूको भनाइ छ।
१० वर्षका बालकलाई सरसफाइ, रोटी पकाउने र भाँडा माझ्ने काम लगाइएको थियो। १२ वर्षे बालकले खाना तताउने, सर्भिस गर्ने तथा रोटी तताउने काम गर्दै आएका थिए भने १५ वर्षीय बालकले भाँडा मोल्ने काम गर्ने गरेका थिए। केही बालबालिका करिब एक वर्षदेखि होटलमा काम गरिरहेका थिए र तलब भनिएकी करिब ४ हजार रुपैयाँ घरमा पठाउने गरेको भनी बालकको हातमा नदिने गरेको खुलेको छ।
दर्शन होटल एण्ड लजबाट १५, १६ र ९ वर्ष उमेरका तीन जना बालकको उद्धार गरिएको थियो। उनीहरू इच्छाकामना नगरपालिका–६ का हुन्। ९ वर्षको बालकलाई समेत लामो समयदेखि होटलमा काममा लगाइएको पाइएको छ।
श्रम तथा रोजगार कार्यालयका अनुसार बालश्रम गराउने होटल व्यवसायीलाई ५० हजार रुपैयाँसम्म जरिवाना तथा आवश्यक परे जेल सजायसमेत हुने कानुनी व्यवस्था छ। घटनाबारे थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
हाल उद्धार गरिएका सबै बालबालिका बाल हेल्पलाइनको संरक्षणमा रहेका छन्। बाल हेल्पलाइनले उनीहरूलाई पुनः होटलमा फर्कन नदिई शिक्षालाई निरन्तरता दिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ।

