हेटौंडा । समाजमा बढ्दो लागुऔषध दुर्व्यसन न्यूनीकरण, युवापुस्तामा सकारात्मक जीवनदृष्टिको विकास तथा शैक्षिक संस्थामार्फत समुदायस्तरमा सचेतना विस्तार गर्ने उद्देश्यले सञ्चालन भइरहेको ३ महिने लागुऔषध विरुद्धको अभियानअन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा प्रभावकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले लागुऔषध दुर्व्यसन आजको गम्भीर सामाजिक चुनौती भएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि प्रशासन, सुरक्षा निकाय, शैक्षिक संस्था तथा पुनर्स्थापना केन्द्रबीच समन्वयात्मक सहकार्य अपरिहार्य रहेको बताए । उनले अभियानलाई परिणाममुखी बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे ।
त्यस्तै, प्रहरी उपरीक्षक खत्रीले लागुऔषध नियन्त्रण, कानुनी कार्यान्वयन तथा समुदाय–प्रहरी साझेदारीलाई सुदृढ गर्दै युवालाई दुर्व्यसनबाट जोगाउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । सहायक क्याम्पस प्रमुख संगम चौलागाईंले शैक्षिक संस्था ज्ञान आर्जनको केन्द्र मात्र नभई सामाजिक रूपान्तरणका अभियन्ता पनि भएकाले यस्ता अभियानमा क्याम्पसको निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमकै अवसरमा मकवानपुर बहुमुखी क्याम्पस र सिआन पुनर्स्थापना केन्द्रबीच दुर्व्यसन विरुद्ध शैक्षिक सहकार्य विस्तार गर्ने विषयमा सम्झौता गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । प्रस्तावअनुसार क्याम्पसस्तरमा सचेतना, परामर्श, पुनर्स्थापना तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।
उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख संगम चौलागाईं, स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रसिद्ध रेग्मी, रिकभरिङ नेपाल बागमती प्रदेशका प्रतिनिधि, सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधिहरू तथा उल्लेख्य संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमले शैक्षिक संस्था, सुरक्षा निकाय र पुनर्स्थापना क्षेत्रबीच सहकार्यको नयाँ आधार निर्माण गर्नुका साथै युवामाझ लागुऔषध दुर्व्यसन विरुद्ध सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।


