Search
Close this search box.

सही व्यक्तिलाई भोट हाल्न आग्रह गर्दै महतको जनता जनजागरण अभियान


मकवानपुर । नजिकिँदै गरेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लाबाट जनता जनजागरण अभियान सुरु गरिएको छ। “सही मानिसलाई भोट हालौँ” भन्ने नारासहित समाजका नागरिकलाई सचेत बनाउने उद्देश्यले घरटोल, चौतारा तथा गाउँबस्तीमा अभियान सञ्चालन गरिएको हो।

समाजसेवी संस्था सेवा, सहयोग र आवाजमा हामी का अध्यक्ष विशाल राज महतको नेतृत्वमा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत मतदाताको घरघरमा पुगेर निर्वाचनको महत्व, नैतिकता र जिम्मेवारीबारे जनचेतना फैलाइँदै आएको छ। महतले भोट माग्न नभई नागरिकलाई सही उम्मेदवार चिनेर मतदान गर्न प्रेरित गर्न आफू घरदैलोमा पुगेको बताएका छन्।

अभियानका क्रममा महतले चुनाव नयाँ–पुरानो पार्टी छुट्याउने प्रतियोगिता नभई नैतिकता र इमान्दारी नाप्ने परीक्षा भएको उल्लेख गर्दै गलत उम्मेदवारलाई समर्थन गर्दा त्यसको असर व्यक्ति मात्र होइन, सिंगो देशले भोग्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार नाराभन्दा नियत, भाषणभन्दा व्यवहार र अनुहारभन्दा उम्मेदवारको इतिहास हेरेर मतदान गर्नु आजको आवश्यकता हो।

“गलत निर्णयको सजाय उम्मेदवारले होइन, देशले भोग्छ,” भन्दै उनले भावनामा बगेर होइन, विवेक र जिम्मेवारीका साथ मतदान गर्न नागरिकलाई आग्रह गरेका छन्। भोट सानो देखिए पनि त्यसको परिणाम राष्ट्रकै भविष्यसँग जोडिएको उनको भनाइ छ।

केही हप्तादेखि निरन्तर रूपमा सञ्चालन भइरहेको यस जनजागरण अभियानलाई स्थानीय नागरिकले सकारात्मक रूपमा लिएका छन्।
विशाल राज महत मकवानपुरमा स्वतन्त्र समाजसेवीका रूपमा परिचित हुँदै आएका छन् भने उनको पहललाई निष्पक्ष र सचेत नागरिक निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

हेटौंडा उपमहानगरपालिकाको ६,७,८,१२,१३,१७,१८ वडामा अभियान सकिएको र सबै पालिकामा पुग्ने तयारी रहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan