Search
Close this search box.

मनहरीमा लागुऔषध मुक्त समाज अभियान तीव्र

मकवानपुर । लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको तीन महिने अभियानअन्तर्गत मनहरी गाउँपालिकामा विभिन्न प्रभावकारी कार्यक्रम सम्पन्न भएका छन्।

अभियानको प्रमुख कार्यक्रमका रूपमा आयोजित पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी , वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू, सुरक्षा निकाय तथा सरोकारवाला प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।

बैठकले लागुऔषध नियन्त्रणलाई स्थानीय तहको साझा जिम्मेवारीका रूपमा स्थापित गर्दै ‘लागुऔषध नियन्त्रण मार्गदर्शन २०७६’ बमोजिम पालिका स्तरीय समन्वय समिति शीघ्र गठन गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष कालाखेतीले मनहरीलाई लागुऔषध दुर्व्यसनको जोखिमबाट सुरक्षित राख्न दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै बजेट विनियोजन, युवा लक्षित कार्यक्रम, विद्यालयस्तरीय सचेतना, पुनर्स्थापना सहकार्य तथा जनअभियान विस्तारमा गाउँपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले नीति, योजना, तथ्याङ्क संकलन तथा कार्यक्रम कार्यान्वयनलाई एकीकृत ढंगले अगाडि बढाइने स्पष्ट पारे।

अभियानअन्तर्गत मनहरी गाउँपालिकास्थित भोजसिद्ध विद्यालयमा विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा लागुऔषधको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असर, कानुनी परिणाम, जीवन सीप विकास तथा सकारात्मक जीवनदृष्टि सम्बन्धी प्रशिक्षणमूलक अन्तरक्रिया गरिएको थियो। शिक्षक, अभिभावक, रिकभरिङ नेपाल बागमती प्रदेशका प्रतिनिधि तथा सिआन पुनर्स्थापना केन्द्रका परामर्शदाताहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ।

यसैगरी समुदायस्तरमा सन्देश प्रवाह सुदृढ गर्न गाउँपालिकाका मुख्य चोक, सार्वजनिक स्थल तथा बजार क्षेत्रमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ। विद्यालय बाहिर धूम्रपान निषेधित क्षेत्र जनाउने बोर्डहरू राखिनुका साथै सन्देशमूलक पर्चा तथा जनचेतनामूलक सामग्री वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ।

मनहरी गाउँपालिकामा सञ्चालन भएका यी कार्यक्रमहरूले लागुऔषध विरुद्धको अभियानलाई जनस्तरदेखि नीतिगत तहसम्म जोड्दै सामाजिक उत्तरदायित्व, सहकार्य र सचेतनाको सशक्त वातावरण निर्माण गरेको सरोकारवालाहरूले बताएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan