Search
Close this search box.

एमाले मकवानपुर निर्वाचन परिचालन समितिको बैठक

हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले मकवानपुर जिल्लाका प्रतिनिधि सभाका दुवै क्षेत्रमा पार्टीका उम्मेद्वारको जित सुनिश्चित रहेको निष्कर्ष निकालेको छ।

निर्वाचन परिचालनका प्रचार प्रमुख नवीन सिग्देलका अनुसार विगत निर्वाचनमा पार्टीले प्राप्त गरेको मत सुरक्षित राख्दै नयाँ चुनौतीहरूको सामना गर्न नेता तथा कार्यकर्तालाई थप चनाखो र सक्रिय हुन आग्रह गरिएको छ। प्रचार–प्रसारलाई अझ प्रभावकारी, योजनाबद्ध र परिणाममुखी बनाउने निर्णय बैठकले गरेको छ।

निर्वाचन परिचालन समितिका सचिव हिदम लामाले उम्मेद्वारहरू कार्यकर्ता र मतदातासँग प्रत्यक्ष भेटघाटमा अत्यन्त उत्साहजनक वातावरण देखिएको जानकारी दिए । उनका अनुसार १०२ वडामा ‘उम्मेद्वारसँग अगुवा कार्यकर्ता भेला’ सम्पन्न भइसकेको छ भने वडा तहसम्म निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ। साथै, पार्टी र जनसंगठनअन्तर्गत विभिन्न तहमा निर्वाचन परिचालन समिति गठन भइसकेको छ।

बैठकमा मतदातासँगको जनसम्वाद कार्यक्रम, प्रचार–प्रसार रणनीति, स्वयंसेवक परिचालन, आर्थिक व्यवस्थापन तथा घोषणापत्र निर्माणलगायत विषयमा विस्तृत छलफल भएको थियो।

बैठकमा केन्द्रीय सदस्य तथा क्षेत्र नं. १ का निर्वाचन परिचालन संयोजक एकालाल श्रेष्ठ, क्षेत्र नं. २ का सह–संयोजक राजाराम स्याङ्तान, केन्द्रीय लेखा आयोगका सदस्य तथा प्रचार–प्रसार संयोजक नवीन सिग्देल, प्रतिबद्धता पत्र तयारी समिति संयोजक अनन्तप्रसाद पौडेल र आर्थिक व्यवस्थापन समिति संयोजक गोपाल श्रेष्ठलगायतले आ–आफ्नो समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन परिचालन समिति संयोजक रामेश्वर रानाको अध्यक्षतामा बसेको बैठकमा अनुगमन समिति संयोजक डोरमणि पौडेलले विपक्षीद्वारा फैलाइएका भ्रम चिर्दै पार्टीले लोकतन्त्र स्थापना, संविधान जारी, शान्ति प्रक्रिया, विकास र समृद्धिका क्षेत्रमा खेलेको भूमिकाबारे मतदातामाझ प्रभावकारी रूपमा लैजान सबै नेता–कार्यकर्तालाई एकजुट भएर लाग्न निर्देशन दिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan