Search
Close this search box.

मनहरी गाउँपालिकाका १३ शोकाकुल परिवारलाई २० हजार सहयोग

मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–३ र ४ नम्बर वडाका शोकमा परेका १३ विपन्न परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार २० हजार रुपैयाँ नगदसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरिएको छ।

मंगलबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मृतकका परिवारको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । आर्थिक अभावका कारण काजकिरिया गर्न कठिनाइ हुने परिवारलाई राहत दिने उद्देश्यले गाउँपालिकाले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

गाउँपालिका अध्यक्ष कालाखेतीका अनुसार वडाका केही परिवार यस्ता छन्, जसलाई परिवारका सदस्यको निधनपछि काजकिरिया गर्नसमेत समस्या हुने गरेको छ। “काजकिरिया गर्न आर्थिक अभावले रोकिने अवस्था नआओस् भनेर पालिकाले राहतस्वरूप प्रतिपरिवार २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ,” उनले भने।

वडा कार्यालयबाट मृत्युदर्तासहित विपन्नताको सिफारिस भएपछि गाउँपालिका कार्यालयले नगद सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यो कार्यक्रम गत आर्थिक वर्षदेखि लागू गरिएको हो।

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमबाट शोकमा परेका विपन्न परिवारले राहत महसुस गरेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan