हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्रको समन्वयमा सञ्चालन भइरहेको तीन महिने लागुऔषध विरुद्धको अभियान अन्तर्गत हेटौंडाका चार प्रमुख सार्वजनिक स्थलमा धूम्रपान निषेध सम्बन्धी चेतनामूलक बोर्ड स्थापना गरिएको छ।
अभियान अन्तर्गत मकवानपुरको धार्मिक तथा पर्यटकीय स्थल बनसखण्डी मन्दिर परिसरमा धूम्रपान निषेध बोर्ड राखिएको हो। उक्त कार्यक्रममा गैरसरकारी महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रतिनिधि, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष कुमारी वाइबा लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, वडा नं. २ स्थित सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा वडा अध्यक्ष विष्णुगोपाल महर्जन, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थितिमा बोर्ड स्थापना गरिएको छ।
वडा नं. ४ मा अवस्थित धार्मिक पर्यटकीय स्थल पशुपतिनाथ मन्दिर परिसरमा पनि धूम्रपान निषेध बोर्ड राखिएको छ। उक्त कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, पूर्व जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल तथा अन्य सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो।
यसैबीच, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा सहायक प्राध्यापक तथा शिक्षकहरूको सहभागितामा धूम्रपान निषेध बोर्ड स्थापना गरिएको अभियान संयोजक मनिष श्रेष्ठले जानकारी दिएका छन्।
सार्वजनिक स्थललाई धूम्रपानमुक्त बनाउँदै नागरिकको स्वास्थ्य संरक्षण, युवा पुस्तामा सकारात्मक सन्देश प्रवाह तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त अभियानमा स्थानीय तह, शैक्षिक संस्था, धार्मिक क्षेत्र तथा नागरिक समाजको सक्रिय सहभागिताले थप सशक्तता प्रदान गरेको आयोजकले जनाएको छ।

