Search
Close this search box.

रसुवा बाढीमा मकवानपुरका ५८ जना सम्पर्कविहीन

हेटौँडा । रसुवा जिल्लामा भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका मकवानपुरका ४५ जनाको उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज २ गते सार्वजनिक गरेको एकीकृत विवरणमा उक्त तथ्य उल्लेख गरिएको हो।

प्रशासनको पछिल्लो विवरणअनुसार रसुवा बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भएको छ भने ५८ जना अझै सम्पर्कविहीन छन्। उद्धार गरिएकामा रसुवा तथा धुन्चे क्षेत्रबाट उद्धार गरिएका, हेटौँडा नगर प्रहरी तथा अन्य माध्यमबाट उद्धार गरिएका व्यक्ति रहेका छन्।

विवरणअनुसार हेटौँडा उपमहानगरपालिकाका २१ जना अझै सम्पर्कविहीन छन् भने तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। थाहा नगरपालिकाका २० जना, मनहरी गाउँपालिकाका चार जना, मकवानपुरगढी गाउँपालिकाका तीन जना, भीमफेदी गाउँपालिकाका दुई जना, बकैया गाउँपालिकाका तीन जना, इन्द्रसरोवर गाउँपालिकाका दुई जना, कैलाश गाउँपालिकाका दुई जना र राक्सिराङ गाउँपालिकाका एक जना सम्पर्कविहीन छन्। भीमफेदीका एक जनाको मृत्यु भएको प्रशासनले जनाएको छ। बागमती गाउँपालिकाबाट भने कोही पनि प्रभावित नभएको विवरणमा उल्लेख छ।

हालसम्म सनाखत भएका मृतकमा हेटौँडा–१५ का सुमन गोले, हेटौँडा–५ का उद्धव खड्का, हेटौँडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना रहेका छन्।

प्रशासनले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारसँगै उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan