दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा हुने ढिलासुस्ती र गुणस्तरहीनता सह्य नहुने बताउनुभएको छ। उहाँले उपभोक्ता समिति वा निर्माण व्यवसायी जसले काम गरे पनि गुणस्तरहीन कामको मूल्याङ्कन तथा भुक्तानीमा संलग्न प्राविधिक र कर्मचारीसमेत कारबाहीको भागीदार हुनुपर्ने स्पष्ट पार्नुभयो।
जिल्ला समन्वय समिति दोलखाले मंगलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले विकास निर्माणका काममा हुने अनियमितता र कमजोरी सार्वजनिक गरी पारदर्शिता कायम गर्न सञ्चारकर्मी तथा नागरिक समाजलाई आग्रह गर्नुभयो।
उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारका आ–आफ्ना जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारले सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ र कृषिलगायतका क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो।
स्वास्थ्य क्षेत्रको विकासतर्फ पशुपति चौलागाईं अस्पतालको स्तरोन्नति गर्दै डायलासिस तथा अन्य विशेषज्ञ सेवा सुरु गरिएको र बाँकी आवश्यकतासमेत क्रमशः पूरा गर्दै जाने उहाँले प्रतिबद्धता जनाउनुभयो।
हालै बागमती प्रदेशको रसुवास्थित भोटेकोसीमा आएको बाढी तथा विभिन्न जिल्लामा गएको बाढी–पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले उद्धार तथा राहतको पहिलो चरणको काम सकिएकाले अब पुनर्निर्माणमा केन्द्रित हुने बताउनुभयो।
अर्बौँ रुपैयाँको क्षति भएकाले प्रदेशको सीमित स्रोत–साधनले मात्र पुनर्निर्माण सम्भव नहुने भन्दै उहाँले दोलखाका नौवटै स्थानीय तहसहित अन्य प्रदेश सरकारलाई बागमती प्रदेशको मुख्यमन्त्री राहत कोषमा योगदान गर्न आह्वान गर्नुभयो। सहयोग गर्ने स्थानीय तह तथा प्रदेशको नाम पुनर्निर्माण गरिने संरचना र शिलालेखमा समावेश गरिने उहाँले घोषणा गर्नुभयो।
राजनीतिक वादविवाद र आरोप–प्रत्यारोपभन्दा माथि उठेर जनप्रतिनिधिहरूले इमानदारीपूर्वक काम गरेमा मात्र दोलखासहित समग्र बागमती प्रदेशलाई समृद्ध बनाउन सकिने मुख्यमन्त्री थापाको भनाइ थियो। दुईदिने समीक्षा गोष्ठीबाट प्राप्त ठोस निष्कर्ष तथा सुझावलाई आगामी बजेट र नीतिमा समावेश गरिने उहाँले जानकारी दिनुभयो।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेल, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेशसभा सदस्य ठूला थामीलगायतको सहभागिता थियो।
