हेटौँडा कांग्रेस सभापतिमा रामकृष्ण कोइरालाको उम्मेदवारी घोषणा
हेटौँडा । नेपाली कांग्रेस हेटौँडा उपमहानगर कार्यसमितिको सभापति पदका लागि रामकृष्ण कोइरालाले उम्मेदवारी घोषणा गरेका छन्। दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारी सम्हालेको अनुभवलाई नगर संगठनको नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित उनले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
हेटौँडा उपमहानगरपालिका–१६ का वडाध्यक्षसमेत रहेका कोइराला २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट लगातार दुई पटक निर्वाचित भएका थिए। २०७४ मा तत्कालीन हेटौँडा–१९ र २१ तथा हालको हेटौँडा–१६ बाट वडाध्यक्षमा निर्वाचित भएका उनी २०७९ मा पुनः निर्वाचित भएका हुन्।
कोइरालाले जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभवसँगै पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएको बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट हेटौँडा उपमहानगर कार्यसमितिको उपसभापतिको जिम्मेवारी पाएका उनले संगठन सुदृढीकरण र विस्तारमा आफू निरन्तर क्रियाशील रहेको उल्लेख गरे।
नगर सभापतिमा निर्वाचित भए हेटौँडाका १९ वटै वडालाई समान रूपमा समेटेर संगठनलाई थप चलायमान बनाउने उनको प्रतिबद्धता छ। साथै नेता–कार्यकर्ताबीचको दूरी घटाउने, संगठनमा एकता र अनुशासन कायम गर्ने तथा कांग्रेसलाई जनतासँग अझ नजिक जोड्ने आफ्नो प्राथमिकता रहेको उनले बताए।
“दुई कार्यकाल जनप्रतिनिधिका रूपमा जनताको बीचमा रहेर काम गरेको अनुभव र पार्टी संगठनमा प्राप्त जिम्मेवारीबाट सिकेको कुरालाई अब हेटौँडा नगर कांग्रेसको नेतृत्वमा उपयोग गर्न चाहन्छु,” कोइरालाले भने, “साथ, विश्वास र सहयोग प्राप्त भए कांग्रेसलाई अझ सशक्त, व्यवस्थित, एकताबद्ध र जनमुखी संगठनका रूपमा अघि बढाउन प्रतिबद्ध भएर काम गर्नेछु।”
उनले हेटौँडाका १९ वटै वडाका कांग्रेस कार्यसमिति, पदाधिकारी, क्षेत्रीय प्रतिनिधि, अग्रज, नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग साथ, सहयोग, समर्थन र मतका लागि अपिल गरेका छन्।
