हेटौँडा । मदन भण्डारी फाउण्डेसनको २७औँ स्थापना दिवस तथा जननेता मदनकुमार भण्डारीको हीरक जयन्तीका अवसरमा हेटौँडामा दीप प्रज्वलन तथा सम्मान कार्यक्रम गरिएको छ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजनामा सोमबार भएको कार्यक्रममा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा भूमिगत राजनीतिक नेताहरूलाई आश्रय तथा संरक्षण दिएकी मकवानपुरकी तीलकुमारी ढकाललाई ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान–२०८३’ प्रदान गरिएको हो।
ढकाललाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले संयुक्त रूपमा सम्मान गरे।
वि.सं. २००१ साउन २५ गते बकैया गाउँपालिका–११ मा जन्मिएकी ढकालले पञ्चायती शासनका बेला मकवानपुरको तत्कालीन विकट क्षेत्र ठिङ्गनमा प्रतिबन्धित राजनीतिक दलका भूमिगत नेताहरूलाई आफ्नै घरमा आश्रय दिएकी थिइन्। निरंकुशता विरुद्धको आन्दोलनमा उनले गरेको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।
कार्यक्रममा फाउण्डेसनको स्थापना दिवस तथा मदन भण्डारीको हीरक जयन्तीका अवसरमा दीप प्रज्वलनसमेत गरिएको थियो।
फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ववामपन्थी नेता केदार न्यौपाने, भीमफेदी गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामा, नेकपा एमाले महिला संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेलगायतको उपस्थिति थियो।
