हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडामा पछिल्लो समय चोरीका घटना बढ्दै गएको खुल्न आएको छ। वडा–१० स्थित भुटनदेवी रोडसहित विभिन्न स्थानमा रातीको समयमा पर्खाल चढेर घरभित्र प्रवेश गरी चोरी गर्ने क्रम बढेको स्थानीयवासीले बताएका छन्।
स्थानीय माया देवी कँडेलका अनुसार सिसिटिभी क्यामेराको फुटेज हेर्दा २/३ जना व्यक्तिहरू पर्खाल नाघेर घर परिसरमा प्रवेश गरेको देखिएको छ। यसैगरी बसपार्क क्षेत्रमा निर्माणाधीन घण्टाघर परिसरको गेटसमेत बिहान ७ बजेकै समयमा तोडफोड गरि लगिएको जानकारी प्राप्त भएको छ।
वडा–१० का अध्यक्ष फुर्वा दोर्जे लामाले वडामा चोरीका घटनाहरू बढेको सूचना प्राप्त भएको पुष्टि गर्दै निगरानी व्यवस्थालाई प्राथमिकता दिइएको बताए। जेन्जी आन्दोलनका क्रममा फुटेको सिसिटिभी क्यामेरा एक महिना अघि पुनः जडान गरिएको र हाल निगरानी कडा पारिएको उनले जानकारी दिए।
अध्यक्ष लामाले वडावासीलाई घर वरिपरि सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै शंकास्पद व्यक्ति देखिएमा तत्काल वडा कार्यालय वा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन्।

