Search
Close this search box.

हेटौंडामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताबारे अभिमुखीकरण सम्पन्न

हेटौंडा। नेपाल पत्रकार महासंघको आयोजनामा हेटौंडामा निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहितासम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूलाई जिम्मेवार र मर्यादित पत्रकारिताका विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा महासंघकी उपाध्यक्ष नितु पण्डितले निर्वाचनका बेला सञ्चारमाध्यमले स्वच्छ, निष्पक्ष र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन्। उनले निर्वाचन आचारसंहितासँगै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउँदै गलत सूचना र पक्षपातपूर्ण प्रस्तुतीकरणले लोकतान्त्रिक प्रक्रियामा असर पार्न सक्ने उल्लेख गरिन्।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि पत्रकारहरूले जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। उनले निर्वाचनको समयमा सन्तुलित र तथ्यपरक समाचार सम्प्रेषणका लागि सबै सञ्चारकर्मीलाई आग्रह गरिन्।

त्यसैगरी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लाको सञ्चार क्षेत्रले प्रशासनलाई प्रभावकारी रूपमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी निर्वाचनलाई स्वच्छ र व्यवस्थित बनाउन सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले निर्वाचन आचारसंहितासम्बन्धी सहजीकरण गर्दै आचारसंहिताका मुख्य प्रावधान र त्यसको कार्यान्वयनबारे जानकारी गराएका थिए।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय लेखा आयोग सदस्य केसी लामिछाने, बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं तथा जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan