Search
Close this search box.

यी हुन् कांग्रेस उम्मेदवार डिनाको संकल्प

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आफ्नो संकल्पपत्र सार्वजनिक गरेकी छिन् । आफू निर्वाचित भएपश्चात गर्ने कार्य र आफ्नो प्राथमिकतालाई समेटेर उनले संकल्पपत्र सार्वजनिक गरेकी हुन् । उनको संकल्पपत्रमा विभिन्न ९ वटा बुँदालाई समेटिएको छ ।

सुशासन र लोकतन्त्रको रक्षा अन्तर्गत संविधान, लोकतन्त्र, संघीयता र समावेशिताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गराउने, ‘विद्युतीय सुशासन’ मार्फत छरितो र भ्रष्टाचारमुक्त सेवा प्रवाह सुनिश्चित गर्ने, शान्ति, सुशासन र स्थिरता कायम गर्दै ‘मेरो निर्वाचन क्षेत्र–मेरो प्रतिवद्धता’ अभियान चलाउने उल्लेख छ । यस्तै पूर्वाधार विकास अन्तर्गत रातोमाटेदेखि राप्ती पुल हुँदै चौकीटोलसम्म व्यवस्थित वैकल्पिक मार्ग सञ्चालन गर्न जोड गर्ने, त्रिभुवन राजपथ अन्तर्गत पर्ने बुद्धचोकदेखि भैंसेसम्म १६ मिटर कायम गरी पर्यटन मार्ग सञ्चालन गर्न पहल गर्ने, बागमती–सिन्धुली सडक, निजगढ डम्बरपुर–चुच्चेखोला सडक र ‘फास्ट ट्रयाक’ निर्माणमा समन्वय र सहजीकरण गर्ने, हेटौंडा ४ र ८ तथा हेटौंडा–११ र १२ जोड्ने गरी पक्की पुलका साथै आवश्यकता अनुसार झोलुङ्गे पुल निर्माण गर्ने, सडक विस्तार प्रभावितलाई क्षतिपूर्ति र उचित व्यवस्थापनका लागि पहल गर्ने, सबै पालिकामा केन्द्रीय प्रशारण लाइन (विद्युत) र इन्टरनेट सेवा विस्तार गर्ने, सार्वजनिक शौचालय, ढल निकास र व्यवस्थित बस्ती विकासमा जोड दिने डिनाको संकल्पपत्रमा लेखिएको छ ।

यस्तै शिक्षा, अनुसन्धान र युवा अन्तर्गत मकवानपुरमा सरकारी इन्जिनियरिङ कलेज, आइटी अनुसन्धान केन्द्र, जैविक विविधता अनुसन्धान केन्द्र र चुरे ज्ञान केन्द्र स्थापना गर्ने, सामुदायिक विद्यालयलाई ‘सोलार इनर्जी’ मैत्री बनाउने, आधारभूत तहमा मातृभाषा शिक्षा दिने र मा.वि. तहमा गणित, विज्ञान र कम्प्युटर शिक्षक अनिवार्य गर्ने, बागमती विश्वविद्यालयमा नयाँ विषयहरू हाइड्रो इन्जिनियरिङ, अटो इन्जिनियरिङ, हस्पिटालिटी ल लगायतका विषय अध्यापन गराउन पहल गर्ने, हेटौंडा ६ को बहुप्राविधिक महाविद्यालय सञ्चालनमा ल्याउने, तारामण्डल प्रदर्शनी गृह र सुप्रसिद्ध गायिका कोइलीदेवी संगीत प्रष्ठिनान स्थापना गर्ने उल्लेख छ । स्वास्थ्य सेवातर्फ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, प्रत्येक पालिकामा डायग्नोस्टिक ल्याब, चिकित्सक र नर्ससहितको अस्पताल सुनिश्चित गर्ने, ७० वर्ष माथिका जेष्ठ नागरिकको घरघरमै स्वास्थ्य परीक्षण, प्रत्येक पालिकामा निःशुल्क एम्बुलेन्स सेवा, र विपन्न वर्गलाई लक्षित गरी निःशुल्क स्वास्थ्य नीति ल्याउन पहल गर्ने, गर्भवती, सुत्केरी र नवजात शिशुका लागि विशेष पोषण तथा परामर्श सेवा सञ्चालन गर्ने, ‘हेल्थ इन अल पोलिसी’ अन्तर्गत योग, ध्यान र खुला व्यायामशालाको विकास गर्ने उनको संकल्पपत्रमा उल्लेख छ ।

यस्तै रोजगारी, उद्यमशीलता र तालिम अन्तर्गत प्रत्येक पालिकामा युवा, महिला र सीमान्तकृत समुदाय लक्षित सीपमूलक तालिम केन्द्र स्थापना गर्ने, ‘युवा स्वरोजगार सूचना केन्द्र’ स्थापना गरी रोजगारी र उद्यमशिलताको अवसर सिर्जना गर्ने, उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि ‘पार्ट टाइम जब’ सम्बन्धी कानुनी व्यवस्था मिलाउने, औद्योगिक क्षेत्रको विस्तार, पुनःसञ्चालन र सेवा प्रवाहीकरणलाई चुस्त बनाउने, कृषि, वन र जडिबुटी अन्तर्गत ‘८ अ’ अभियानः अमृसो, अदुवा, आलु, अकबरे, अलैंची, अमला, अनार र अमिलो प्रजातिको खेती विस्तार र व्यवसायीकरण गर्ने, मकवानपुरमा वनस्पति उद्यानलाई अनुसन्धान केन्द्रमार्फत अल्लो, चिराइतो लगायतका जडिबुटीको ‘ब्राण्डिङ’ गर्ने र मकवानपुरलाई फुसको छाना रहित बनाउने र एकीकृत बस्ती विकास गर्ने प्रतिज्ञा रहेको छ ।

जिल्लाका सम्पूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यको गुरुयोजना निर्माण र कार्यान्वयन, विभिन्न जातीको संग्रहालय स्थापना र गढीहरूको संरक्षण, बागमती नदी तटमा कृषि पर्यटनको विकास, रक पार्क कृत्रिम ताल निर्माण गर्ने डिनाको संकल्पपत्रमा उल्लेख छ । यस्तै दलित, आदीवासी, एकल महिला र अपांगता भएका नागरिक लक्षित विशेष रोजगार र सुरक्षा कार्यक्रम ल्याउने, हेटौंडा ६ को शान्ति बहिरा विद्यालय र आशा फाउण्डेशनद्वारा सञ्चालित विद्यालयको व्यवस्थापनमा विशेष सहयोग गर्ने, खोरीया बस्तीका भूमिहीन किसानलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन पहल गर्ने र विपद् व्यवस्थापनका लागि दमकल, एम्बुलेन्स (स्वास्थ्य÷पशु) र आत्महत्या न्यूनीकरण परामर्श सेवालाई एकीकृत गरी ‘कल सेन्टर’मार्फत चौबिसै घण्टा सेवा प्रवाह गर्ने उनको प्रतिज्ञा छ । ‘म निर्वाचित भएपश्चात् हरेक घरदैलोमा पुगेर यहाँहरूको समस्या र गुनासो ध्यानपूर्वक सुन्नेछु र समाधानका लागि दृढतापूर्वक काम गर्नेछु’, उनले भनिन्, ‘एकपटक निर्वाचित गरी काम गर्ने मौका प्रदान गरिदिनुहुनका लागि क्षेत्र नम्बर १ का मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।’

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan