हेटौंडा । भोली फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित कर्मचारी र सुरक्षाकर्मीहरू सबै मतदान केन्द्रमा पुगिसकेका छन्।
हेटौंडाको भुटनदेवि माध्यमिक विद्यालय मा रहेका मतदान अधिकृत श्रीराम पुडासैनीका अनुसार मतदान केन्द्रमा क्षेत्र घोषणासम्बन्धी सूचना टाँस गरिएको छ भने सर्वदलीय बैठकसमेत सम्पन्न भइसकेको छ। यससँगै निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सबै पूर्वतयारी सकिएको जनाइएको छ।
जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल पनि व्यवस्थित रूपमा तयार गरिएको छ। हेटौंडा–४ स्थित भुटनदेवि माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चारवटा कोठा छुट्याइएको छ। मतगणना स्थललाई तारजालीले घेराबन्दी गरी सीसीटिभी क्यामेरा जडान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार मतगणना स्थलमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ। सम्भावित अराजक गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। दलका प्रतिनिधिहरूलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको छ भने एकैपटक चार स्थानबाट मतगणना गर्न सकिने प्रबन्ध गरिएको छ।
मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन सवारी साधनको व्यवस्था गरिएको छ। यद्यपि मकवानपुरका केही दुर्गम गाउँबाट मतपेटिका ल्याउन मतदान सकिएको चार घण्टासम्म समय लाग्न सक्ने जनाइएको छ।
समग्रमा, जिल्लामा शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गर्न प्रशासनले आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ।



