हेटौंडा । मकवानपुरका दुई निर्वाचन क्षेत्रमा यसपटकको निर्वाचनमा बदर मतको संख्या उल्लेख्य देखिएको छ। मुख्य निर्वाचन कार्यालय हेटौंडाका अनुसार दुवै क्षेत्रमा गरेर १० हजारभन्दा बढी मत बदर भएका छन्।
उपलब्ध विवरण अनुसार मकवानपुर–२ मा सबैभन्दा धेरै बदर मत परेको छ। यस क्षेत्रमा १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेकामा ५८.७ प्रतिशत अर्थात ९१ हजार १ सय १६ मत खसेको थियो। खसेको मतमध्ये ५ हजार ४ सय ९७ मत बदर भएका छन्, जुन कुल खसेको मतको करिब ६.३ प्रतिशत हो।
त्यसैगरी मकवानपुर–१ मा ९५ हजार ८ सय ४३ मत खस्दा ५ हजार १ सय १८ मत बदर भएको छ। यो खसेको मतको करिब ५.३३ प्रतिशत हो। यस क्षेत्रमा ९० हजार ७ सय २५ मत मात्र सदर भएका छन्।
निर्वाचन कार्यालयका अनुसार सबैभन्दा धेरै मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा छाप लगाइएका कारण मत बदर भएको हो। यसबाहेक केही मतपत्रमा ल्याप्चे लगाइएका कारण पनि मत बदर भएको बताइएको छ।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक बदर मतको प्रतिशत बढेको देखिएको छ। २०७९ सालको निर्वाचनमा मकवानपुर–१ मा ४.४६ प्रतिशत र मकवानपुर–२ मा ४.७६ प्रतिशत मत मात्र बदर भएका थिए।
यसपटक प्रत्यक्षतर्फ मकवानपुर–१ मा २१ जना र मकवानपुर–२ मा २३ जनाले उम्मेदवारी दिएका थिए। खसेको मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्थाअनुसार ३५ जनाको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।
दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।
समानुपातिकतर्फ पनि केही मत बदर भएको छ। मकवानपुर–१ मा ३ हजार ८ सय ८७ मत बदर भएका छन् भने मकवानपुर–२ मा ४ हजार ७० मत बदर भएका छन्।


